नगरप्रमुख लामाले विद्यालय सुचारु राख्न अनुरोध गर्दै जारी गर्नुभएको सूचना ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले विद्यालयमा नियमित पठनपाठन सुचारु राख्न अनुरोध गर्नुभएको छ । हेटौँडा–३ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयकी कर्मचारी माइती थोकरको निधनको शोकमा आज मंगलबारका लागि शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिले नगरका सबै सामुदायिक विद्यालयलाई शोक विदा गर्न आग्रह गरेको विपरित नगरप्रमुख लामाले महेन्द्र किरण माध्यमिक विद्यालय बाहेक अन्य विद्यालय सुचारु राख्न अनुरोध गर्नुभएको हो ।

नगरप्रमुख लामाले मंगलबार बिहान एक सूचना जारी गर्नुहुँदै थोकरको निधनप्रति दुख व्यक्त गर्नुका साथै थोकर कार्यरत महेन्द्र किरण माध्यमिक विद्यालय बाहेक अन्य विद्यालय सुचारु राख्न अनुरोध गर्नुभएको हो । शिक्षक महासंघले भने सोमबार नै सूचना जारी गर्दै थोकरप्रति श्रद्धाञ्जली अर्पण गरेर मंगलबारको नियमित शैक्षिक कार्यक्रम बन्द गर्न अनुरोध गरेको थियो ।

महेन्द्र किरण माध्यमिक विद्यालयकी कर्मचारी माइती थोकरको सोमबार निधन भएको हो । शिक्षक महासंघले यसअघि पनि विद्यालयका शिक्षक, कर्मचारीको निधनमा शोक व्यक्त गर्दै नियमित शैक्षिक कार्यक्रम बन्द गर्न अनुरोध गर्ने गरेको छ । महासंघको अनुरोध अनुसार नै विद्यालयमा नियमित पठनपाठन लगायतका शैक्षिक क्रियाकलाप बन्द रहने गरेको छ ।