हेटौंडाः मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनलाई नेपाली संस्कृतिमा एउटा महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै यो पर्व आज बुधबार मनाइँदैछ ।

बैशाख कृष्णपक्षको औंसीलाई मातातीर्थ औंसीको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वका दिन आमालाई कपडा, गहना उपहार दिई मिठाई, फलफूललगायत परिकारहरु खान दिने गरिन्छ । आफूलाई जन्मदिने आमालगायत ठूलीआमा÷सानीआमा, गुरुआमा, सासूआमा र काकीहरुलाई पनि विभिन्न उपहार दिएर आशीर्वाद लिने प्रचलन छ ।

आमा नभएकाहरुले आमाको स्मरणमा तीर्थस्थलमा गएर तर्पण, पिण्डदान, श्राद्ध गर्ने गर्दछन् । यस पर्वका दिन विशेषगरी काठमाडौं उपत्यकामा पश्चिमी भेगको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्ने र माताको मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गर्दछ ।

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेर्ने गर्दछन् । दिवंगत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । मातातीर्थ औंसीको दिन यहाँ आई आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवंगत माता खुसी हुने विश्वास गरिन्छ ।

पढाई, रोजगारी, व्यवसायका लागि आमाबाबुबाट टाढा रहेका सन्तानहरुका लागि यो पर्व अझ विशेष बन्ने गरेको छ । विगतमा संयुक्त परिवारमा सबै मानिस सँगै बस्दा खासै महत्व नपाएको यो पर्वको महत्व अहिलेको एकल परिवार र व्यस्त समाजमा बढेको छ । आमालाई सम्झिने यस दिनको विशेष शास्त्रीय मान्यता रहेको छ ।

जीवित र दिवंगत दुबै आमाको तृप्तिको लागि आजको दिनलाई विशेष महत्वका साथ लिन्छन् । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रुपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।