Home मुख्य समाचार आमाको हत्याको आरोपमा छोरा पक्राउ

आमाको हत्याको आरोपमा छोरा पक्राउ

पक्राउ परेका मिलन गमाल

हेटौंडाः मकवानपुरको थाहा नगरपालिका–१०, तल्लो बिसिङ्खेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई पक्राउ गरेको छ । घरायसी विवादका कारण ५० वर्षीया ज्ञानीमाया गमालको हत्या आरोपमा छोरालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गत फागुन ३० गते बिहान १० बजेको समयमा घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको सूचनापश्चात् इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ज्ञानीमाया खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट ज्ञानीमायाका छोरा मिलनले घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पालुङले मिलनलाई थाहा नगरपालिका–१० बाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।

Exit mobile version