हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको सरुवा भएको छ । संघीय सरकारले बिहिबार हेटौँडाका चौलागाईसहित ४३ जना सहसचिवको एकसाथ सरुवा गरेको छ ।
चौलागाईलाई दलित आयोगको सचिवको रुपमा सरुवा गरेर संघीय सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहनुभएका सहसचिव पुरीलाई हेटौँडाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । २०७७ चैत ३० गते हेटौँडाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका चौलागाई पछिल्लो समय आलोचित बन्दै जानुभएको थियो ।
कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत चौलागाईले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएको थियो । कार्यपालिकाको सदस्य सचिव समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत चौलागाईले कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्न नसक्ने र प्रवक्तालाई सोध्न भन्दै पन्छिने गर्नुभएको थियो । प्रशासकीय प्रमुख भएर पनि नगर प्रमुखको आदेश मान्ने कर्मचारी मात्रै भएको भनी गैरजिम्मेवारीपूर्ण जवाफ दिने गर्नुभएको थियो ।
