Home मुख्य समाचार मकवानपुरगढीका रैथाने बालीहरु राष्ट्रिय कार्यक्रममा प्रदर्शन हुने

मकवानपुरगढीका रैथाने बालीहरु राष्ट्रिय कार्यक्रममा प्रदर्शन हुने

मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा उत्पादन भएका रैथाने बालीहरु राष्ट्रिय कार्यक्रममा प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौंमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र फुड एण्ड एग्रिकल्चरको संयुक्त आयोजनामा हुने कृषि सामग्री प्रदर्शनी कार्यक्रममा गढीका रैथाने बाली पनि प्रदर्शन गरिने पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

केही समयअगाडि उक्त कार्यक्रममा सहभागिताका लागि मकवानपुरगढी गाउँपालिकालाई सूचना आएको उहाँले बताउनुभयो । प्रदर्शनीमा देशभर उत्पादन भएका रैथाने बालीहरु प्रदर्शनी र बिक्री वितरणसमेत हुने प्रमुख चौधरीले बताउनुभयो । प्रदर्शनीमा गढीमा उत्पादन हुने कोदो, फापर, जुनेला, सिलामलगायतका रैथाने बालीहरु राखिने उहाँले बताउनुभयो । कोदोका प्रजातिहरु सेतो, कालो, रातो र धान कोदो प्रदर्शनीमा राख्ने उहाँले बताउनुभयो ।

पालिकाले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पालिकाले पालिकाभित्रका किसानहरुले उत्पादन गरेको रैथाने बालीहरुको न्यूनतम समर्थन मूल्य तोकेर बिक्रीका लागि सहजीकरण गरिरहेको छ । पालिकाले कोदोको केजीको ५४ रुपैयाँ, फापरको १ सय रुपैयाँ र जुनेलोको ८४ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । पालिकाले तोकेको सहकारीसँग बिक्री गरेमा प्रोत्साहनस्वरुप १० रुपैयाँ थप उपलब्ध गराइरहेको प्रमुख चौधरीले बताउनुभयो । जसमा ४ रुपैयाँ सहकारीले पाउनेछन् भने ६ रुपैयाँ किसानले पाउनेछन् ।

पालिकाले अहिले गढी–४ स्थित अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थासँग सहजीकरण गरेर किसानहरुले उत्पादन गरेको बाली खरिद गरिरहेको छ । यसवर्ष सहकारीले ७ टन कोदो, ५ टन फापर र १ टन जुनेलो खरिद गरेको छ । मकवानपुरगढीको ८ नम्बर वडामा कोदो, ४ नम्बर वडामा फापर र १ नम्बर वडामा बढी मात्रामा जुनेलो उत्पादन हुने गरेको छ । पालिकाले कृषकहरुले उत्पादन गरेको बालीहरुको न्यूनतम समर्थन मूल्य तोकिदिँदा किसानले कम रकममा बेच्नुपर्ने बाध्यता हटेको र बजारको सुनिश्चिता भएको प्रमुख चौधरीले बताउनुभयो ।

Exit mobile version