Home मुख्य समाचार मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा, हेटौंडा बजार क्षेत्रको सडक विस्तार हुनुपर्छः मुख्यमन्त्री...

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा, हेटौंडा बजार क्षेत्रको सडक विस्तार हुनुपर्छः मुख्यमन्त्री जमकट्टेल

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभामा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले हेटौंडा बजार क्षेत्रको सडक विस्तार हुनुपर्ने बताउनुभएको छ ।

राजनीतिक दलहरुले हेटौंडा बजार क्षेत्रको राष्ट्रिय राजमार्गलाई सधैं राजनीतिकरण गर्दा सडक विस्तारको समस्या कहिल्यै नहटेको उहाँले बताउनुभयो । हेटौंडा बजारको सडक विस्तार गर्ने कुरा प्रदेशको क्षेत्रभित्र नपर्ने हुँदा संघीय सरकारले नै टुङ्गो लगाउने उहाँको भनाइ छ । उद्योग वाणिज्य संघले सडक सीमाभित्रको संरचना भत्काउन दिनुपर्ने र विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिले व्यवसायीमात्र नभएर सबैतिर निराशा छाइरहेको अवस्था रहेको बताउनुभयो । सरकारले पछिल्लो समय राम्रा कामहरु सुरु गरेको र त्यसले नतिजा पनि सकारात्मक दिइरहेकाले व्यवसायीहरुलाई चिन्तित नहुन उहाँले आग्रह गर्नुभयो ।

अहिले प्रचण्ड नेतृत्वको सरकार आएपछि धेरै समयदेखि घाटामा रहेको नेपाल आयल निगम र वायु सेवा निगम नाफामा गएकाले अन्य क्षेत्रहरुमा पनि विस्तारै समस्या समाधान हुँदै जाने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । सरकारले अहिले विद्युत् निर्यात गर्दा आर्थिक अवस्था सुधार भएको उहाँले बताउनुभयो । अहिले नेपाल राष्ट्र बैंक सरकारको सहयोगीको रुपमा नरहेको बताउनुहँुँदै उहाँले समयमै मौद्रिक नीति नबनेको बताउनुभयो । समयमा मौद्रिक नीति नबन्दा सरकारले त्यहीअनुसारले नीति ल्याउन कठिन भएको उहाँले बताउनुभयो ।

साधारणसभामा बोल्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले हेटौंडा बजारलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । हेटौंडा बजार क्षेत्रको सडक विस्तारलाई रोक्ने र छेक्नेभन्दा पनि नीतिगतरुपमा टुङ्ग्याउनुपर्ने उहाँले बताउनुभयो । यस विषयमा सबै जिम्मेवार तह र सरकारले समन्वयकारी भूमिका निर्वाह गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभाका सदस्य महेशकुमार बर्तौलाले सरकारको कमजोरीका कारण व्यावसायिक तथा अन्य क्षेत्रमा निराशा छाएको बताउनुभएको छ । शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै सरकारले व्यवसायीलाई आशा जगाउने काम गर्न नसकेको सांसद बर्तौलाले बताउनुभयो । सरकारको कमजोरीले गर्दा सही नीति नबनेको र बैंकहरुले बदमासी गरी १४ प्रतिशतभन्दा बढी व्याज तिर्नुपर्ने अवस्था सिर्जना भएकाले व्यवसायी निराश भएको उहाँले दावी गर्नुभयो । सरकारले व्यवसायीलाई लगानीमैत्री वातावरण बनादिनुपर्ने उहाँले बताउनुभयो । सरकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहिले बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य दीपकबहादुर सिंहले देशको व्यापारघाटा रोक्न उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । साधारणसभामा बोल्नुहुँदै सांसद सिंहले समस्यामा रहेका व्यवसायी र उद्योगीलाई बचाउनपुर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । हेटौंडा कपडा उद्योग सञ्चालन भएमा २ हजारभन्दा बढीले रोजगारी पाउने उहाँले दाबी गर्नुभयो । उत्पादन भएको कपडा सबैले लगाएमा उद्योग राम्रोसँग चल्ने उहाँको भनाइ छ । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेकाले सरकारले त्यसलाई रोक्न विशेष ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । युवा देशमा नभए केही गर्न सम्भव नहुने उहाँको भनाइ छ । सरकारमा बस्नेहरुले जनतालाई नझुक्याइकन निर्वाचनमा बोलेका सबै कार्य गर्नुपर्ने बताउनुभयो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले राज्यले उद्योग र व्यवसाय क्षेत्रलाई राजस्व संकलनको स्रोतभन्दा माथि नसोचेको बताउनुभयो । अहिले मर्यादितरुपमा व्यवसाय सञ्चालन गर्ने आधार तयार नभएको उहाँको भनाइ छ । व्यवसायीहरु विभिन्न झन्झट र कानुनी तथा नीतिगत अप्ठ्यारोहरुले जेलिएको अवस्था रहेको उहाँले बताउनुभयो । हेटौंडामा २५ मिटर सडक विस्तारको समस्याले नगरबासी र व्यवसायीलाई त्रसित बनाइरहेको हुँदा यसको उचित निकास दिनुपर्ने उहाँले बताउनुभयो । हेटौंडाको मुल बजार क्षेत्रको सडकलाई यथावत कायम राखी वाइपास सडक निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सडक विस्तार गर्नैपरे पीडित घरधनीलाई उचित मुआब्जा दिएर विकल्पको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

साधारणसभामा संघले तीन जनालाई सम्मान गरेको छ । संघले मनहरीमा उद्योग वाणिज्य संघका लागि जग्गा दान दिने व्यवसायी नारायण सुवेदी, शिक्षासेवी ग्रेस श्रेष्ठ र सुनमाया मोक्तानलाई सम्मान गरेको हो । साधारणसभामा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, संघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाललगायत केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version