Home खेलकुद प्रधानमन्त्री कप टिम छनोट क्रिकेटको उपाधि मकवानपुर क्रिकेट क्लबलाई

प्रधानमन्त्री कप टिम छनोट क्रिकेटको उपाधि मकवानपुर क्रिकेट क्लबलाई

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट क्लबले जितेको छ । बिहीबार हेटौंडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लबले ओमनगर क्रिकेट क्लबलाई ३९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । मकवानपुरबाट टिम कप्तान सुमन सुनारले सर्वाधिक ७४ रन बनाएका थिए । रिजन ढकालले ५२ रन, इरफान अलीले ४३ रन, समीर चौलागाईंले १३ रन, रामनरेश गिरी र तक्षक सिम्खडाले समान ९–९ रन बनाएका थिए । ओमनगरका रोहित ठाकुर, पियुस शर्मा, असिम श्रेष्ठ र गौरव खड्काले समान २–२ विकेट लिएका थिए । यस्तै, शुभ कंसाकारले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमनगरले ३२ ओभर २ बलमा सबै विकेटको क्षतिमा १ सय ८४ रनमात्र जोड्न सफल भएको थियो । ओमनगरबाट गौरव खड्काले सर्वाधिक ८७ रन बनाएका थिए । यस्तै, शुभ कंसाकारले ४२ रन, गोकुल अधिकारीले १८ रन, असिम श्रेष्ठले १० रन र रोेहित ठाकुरले १८ रन जोड्न सफल भएका थिए ।

मकवानपुरका समीर चौलागाईंले सर्वाधिक ३ विकेट लिएका थिए । तक्षक सिम्खडा, रामनरेश गिरी र शिभक कुसवाहले समान २–२ विकेट लिएका थिए । सन्तोष उपाध्यायले १ विकेट लिए ।

खेलको म्यान अफ द म्याच मकवानपुर क्रिकेट क्लबका रिजन ढकाल घोषित भएका छन् । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी भएका टिमहरुमध्ये उत्कृष्ट १८ जनाको टिम छनोट गरी दोस्रो चरणको छनोट प्रतियोगिता सहभागी गराउन प्रदेश पठाउने जनाइएको छ ।

बुधबार हुप्रचौरमा भएको खेलमा मकवानपुर क्रिकेट क्लब ६ विकेटले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको रेड स्वाइलले ३३ ओभर ५ बलमा सबै विकेट गुमाएर १४५ रन जोड्दा मकवानपुर क्रिकेट क्लबले १६ ओभर २ बलमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । यस्तै, मंगलबार भएको खेलमा मकवानपुर बहुमुखी क्याम्पसलाई २४२ रनले पराजित गर्दै ओमनगर क्रिकेट क्लब विजयी भएको थियो । पहिले ब्याटिङ गरेको ओमनगरले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाउँदा मकवानपुर क्याम्पसले १९ ओभर ४ बलमा १० विकेटको क्षतिमा ६० रनमात्र जोड्न सफल भएको थियो ।

Exit mobile version