हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकको अहिलेको व्यवस्थाप्रति आत्तिहाल्न नहुने बताउनुभएको छ । बिहिबार नेपाल नगरपालिका संघ र मुख्यमन्त्रीको कार्यालयले हेटौंडामा आयोजना गरेको तहगत सरकारका अधिकार विषयक छलफलमा बोल्नुहुँदै उहाँले अहिले संघीयता कार्यान्वयनको सुरुवात भएको र यसले राम्रो उपलब्धी दिन थालेको बताउनुभयो ।
संविधानले तीन तहका सरकारलाई दिएको तहगत अधिकारहरु संस्थागत ढंगले आउन बाँकी रहेकोले अहिले नै संघीयताले केही भएन भन्न नहुने बताउनुभयो । तीनै तहका सरकारको अहिले काम कारबाही हेर्दा समन्वयमा काम गर्न अप्ठ्यारो भने भइनसकेको उहाँले बताउनुभयो । संघीय सरकारको नेतृत्वले अहिले देखाएको अग्रसरताले यो समस्या चाँडै हट्ने उहाँको भनाई छ । अहिले संघीय सरकारले विभिन्न समितिहरुको बैठक गरिरहेको र त्यहाँ तहगत सरकारहरुले आफ्ना कुराहरु राख्ने काम भइरहेको उहाँले बताउनुभयो ।
संघीयतालाई सुदृढ गर्न सरकार प्रतिबद्धता रहेकोले यो व्यवस्था नै सबैका लागि गौरवको कुरा हुने उहाँले बताउनुभयो । देशमा राजतन्त्र, जनयुद्ध र विभिन्न आन्दोलनहरु भएपनि विकास, रोजगारी, शिक्षा र स्वास्थ्यमा परिवर्तन लगायतको कुरा जनताले चाहिरहेको उहाँको भनाई छ । १ सय ४ वर्ष राजतन्त्रले देशलाई केही दिन नसकेकोे उहाँले बताउनुभयो । त्यो बेलामा विकास र अहिलेको जस्तो सामाजिक चेतना नभएको पनि उहाँले बताउनुभयो ।
आज जनताले जे माग गर्यो त्यो पुरा हुने तर त्यो बेला नभएको उहाँको भनाई छ । यो व्यवस्थामा सबैले गर्व गर्नुपर्ने र नकारात्मक कुराहरुको वास्ता गर्न नहुने उहाँले बताउनुभयो । अहिले मुलुकमा संघीयतापछि धेरै राम्रा काम भएको उहाँले दाबी गर्नुभयो । अहिले सीमित स्रोतसाधन र केही प्रक्रियागत जटिलताले छिटो परिणाम खोज्ने जनताको आशा पुरा हुन नसकेको उहाँले बताउनुभयो ।
यस्तै नेपाल गाउँपालिका संघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संविधान कार्यान्वयन गर्न तीनै तहको सरकार लाग्नुपर्ने बताउनुभएको छ । संविधानले प्रदान गरेको अधिकारहरु अझै पनि कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद तिल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्य सचिवहरु, मुख्य न्यायाधिवक्ता र स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेका छन् । कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।
