Home खेलकुद प्रधानमन्त्री कप टिम छनोट क्रिकेट प्रतियोगिता, मकवानपुर फाइनलमा

प्रधानमन्त्री कप टिम छनोट क्रिकेट प्रतियोगिता, मकवानपुर फाइनलमा

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगितामा रेड स्वाइललाई हराउँदै मकवानपुर क्रिकेट क्लब फाइनलमा पुगेको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको खेलमा मकवानपुर क्रिकेट क्लब ६ विकेटले विजयी भएको हो ।

पहिले व्याटिङ गरेको रेड स्वाइलले ३३ ओभर ५ बलमा सबै विकेट गुमाएर १४५ रन जोड्न सफल भएको थियो । रेड स्वाइलको तर्फबाट रमेश लुईंटेलले सर्वाधिक ३८ रन जोड्न सफल भएका थिए । रिषभ चौधरीले अविजित रहँदै २७ रन जोडे । त्यस्तै, राहुल केशरीले १९ रन र गौरव क्षेत्रीले १३ रन जोडेका थिए । मकवानपुर क्रिकेट क्लबका तक्षक सिम्खडाले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए । रिजन ढकाल र सन्तोष उपाध्यायले समान २–२ विकेट लिएका थिए ।

जवाफी व्याटिङमा उत्रिएको मकवानपुर क्रिकेट क्लबले १६ ओभर २ बलमा ३ विकेट गुमाएर रेड स्वाइलले दिएको लक्ष्यलाई भेटाएको थियो । मकवानपुर क्रिकेटको जितका लागि टिम कप्तान सुमन सुनारले सर्वाधिक ६२ रन जोडे । तक्षक सिम्खडाले ४९ रन, रिजन ढकालले १२ रन र सृजन ढकालले ६ रन बनाएका थिए । रेड स्वाइलका राजीव यादव, नवीन शर्मा र आर्यनले १–१ विकेट लिए । छनोट प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत् आज बिहीबार ओमनगर र मकवानपुर क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

Exit mobile version