Home मुख्य समाचार किताबघरको पुस्तक प्रदर्शनी यात्रा–२०८० सुरुः सिद्धार्थ शिशु सदनमा २०० भन्दा बढी पुस्तक...

किताबघरको पुस्तक प्रदर्शनी यात्रा–२०८० सुरुः सिद्धार्थ शिशु सदनमा २०० भन्दा बढी पुस्तक विक्री

पुस्तक प्रदर्शनीमा पुस्तक हेर्दै विद्यार्थीहरु ।

हेटौँडाः हेटौँडा–४, भैरवरोडस्थित किताबघरले शुक्रबारदेखि विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा–२०८० को सुरुवात गरेको छ । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विविध विषयका पुस्तक प्रदर्शनीको सुरुवात हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनबाट गरेको छ । विद्यार्थीलाई कक्षागतरुपमा पुस्तक प्रदर्शनीमा सहभागी गराइएको थियो ।

विद्यार्थीले प्रदर्शनीमा पुस्तकको अवलोकन गर्नुका साथै रुचिका पुस्तक खरिद समेत गरेका थिए । किताबघरका सञ्चालक छवि अनित्यले बिहिबार सिद्धार्थ शिशु सदनमा कक्षा ७, ८ र ९ का विद्यार्थीलाई पठन संस्कृतिको विषयमा अभिमुखीकरण समेत गराउनुभएको थियो । पुस्तक प्रदर्शनीको अवसरमा २ सय वटा पुस्तक विक्री भएको अनित्यले जानकारी दिनुभएको छ । विद्यालयसँग समन्वय गरेर प्रदर्शनी आयोजना गरिएको र विद्यालय प्रशासनबाट साथ र सहयोग प्राप्त भएको अनित्य बताउनुहुन्छ ।

यही मंसिर २२ गते हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका एकेडेमी र मंसिर २४ गते हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा पुस्तक प्रदर्शनीको आयोजना गरिँदैछ । अन्य विद्यालयसँग पनि समन्वय भइरहेको र यात्रा निरन्तर जारी रहने उहाँको भनाइ छ । किताबघरले पूर्वप्राथमिक तहदेखि मावि तहसम्मका विद्यार्थीका लागि उपयुक्त स्वदेशी तथा विदेशी प्रकाशन गृहका पुस्तक विक्री गर्दै आएको छ ।

प्रदर्शनीमा विद्यार्थीको उत्सुकता राम्रो रहेको उल्लेख गर्नुहुँदै छवि भन्नुहुन्छ, “केही विद्यार्थीले प्रदर्शनीमा राखिएका पुस्तकमध्ये राम्रा पुस्तक छानेर लिनुहुन्छ । कतिपय विद्यार्थीलाई उपयुक्त पुस्तक छनोट गरेर यो पुस्तक पुढ्नुस् भनेर दिनु पनि पर्छ । कतिपय विद्यार्थी भने निश्चित प्रकाशनगृहका पुस्तक नै खोजी गर्नुहुन्छ ।” किताबघरले दसैंको विदालाई लक्षित गरेर असोज महिनामा पनि हेटौँडा नगरका ९ वटा विद्यालयमा पुस्तक प्रदर्शनीको आयोजना गरेको थियो । पुस्तक प्रदर्शनी अधिकांश निजी विद्यालयमा आयोजना गरिएको थियो ।

सिद्धार्थ शिशु सदनमा कक्षा ७ मा अध्ययनरत रिभानी थापा पाठ्यक्रमभन्दा बाहिरको पहिलो पटक पुस्तक खरिद गर्न पाएकोमा खुसी देखिनुहुन्थ्यो । बिहिबार पठन संस्कृतिका विषयमा आयोजित अभिमुखीकरणमा सहभागी भएकी रिभानीले पुस्तक प्रदर्शनीका बेला पुस्तक खरिद गर्न अभिभावकसँग पैसा मागेर लिएर आउनुभएको थियो । पुस्तक प्रदर्शनीमा पुस्तक खरिद गर्ने प्रस्तावलाई अभिभावकले पनि सहर्ष स्वीकार गरेर पैसा दिनुभएको रिभानी बताउनुहुन्छ ।

Exit mobile version