Home मुख्य समाचार पूर्वाधारसँगै समग्र योजना बनाउ

पूर्वाधारसँगै समग्र योजना बनाउ

एक जोडी कलाकारका मध्यम योजनाले सफलता प्राप्त गर्दै गर्दा विशाल योजनाको लोभले निम्त्याएको अपुरो संरचना हो चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । क्रिकेट खेलप्रति नेपाली समाजको आकर्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको आशलाग्दो प्रस्तुती जारी रहँदा हाँस्य कलाकार दम्पत्ति सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस–सुन्तुलीले आफ्नै नामको प्रतिष्ठान गठन गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको योजना बनाएको हो । उच्च पहाड र तराईमा जनताको घर बनाएर लोकप्रिय बनेका कलाकार दम्पत्तिले अर्बौं रुपैयाँ लगानी गर्नुपर्ने बहुबर्षीय योजनाको रुपमा क्रिकेट रंगशाला निर्माणलाई आमरुपमा सकारात्मक ठानियो ।

राज्य संयन्त्रहरु असफल भइरहेका बेला जनताका लागि आशाको किरण बनेर आएको धुर्मुस–सुन्तली फाउण्डेशनप्रति आशंकाको दृष्टि आमरुपमा रहेन । जसका कारण सुरुवाती चरणमा असाध्यै लोकप्रिय र चर्चाका साथ रंगशाला निर्माणको काम सुरु भयो । सुरुवाती चरणमा भरतपुर महानगरपालिकादेखि बागमती प्रदेशका पालिका तहबाट समेत उल्लेखनीय सहयोग जारी रह्यो । अन्तर्राष्ट्रिय रंगशालाको एउटा खाका तयार हुँदै गर्दा विशेषतः कोभिड–१९ महामारीले विश्व समुदायलाई नै त्रसित बनाएसँगै प्रभावित बन्न पुग्यो । कोभिड–१९ महामारीसँगै क्रिकेट रंगशाला निर्माणमा आन्तरिक व्यवस्थापनको कमजोरीका कारण अविश्वासको वातावरण बन्दै गयो । रंगशालामा लगानी गर्ने हातहरु घट्दै गए । अन्ततः धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको योजनाबाट हात झिक्नुपर्ने अवस्था आयो ।

कोमामा पुगेको एउटा परियोजनालाई विशेषतः भरतपुर महानगरपालिकाको पहलमा पुनर्जीवन प्राप्त हुने संकेत देखिएको छ । भरतपुर महानगरपालिकाको प्रयासमा बागमती प्रदेश सरकारले ठूलो साथ र सहयोगको प्रतिवद्धता व्यक्त भएको छ । भरतपुर महानगरपालिकाले ३० प्रतिशत र बागमती प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने सहमति भएको छ । एउटा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गर्दा पालिकाले भन्दा प्रदेशले र प्रदेशले भन्दा देशले बढी लाभ हासिल गर्ने सम्भावना स्पष्ट छ । मूलतः दक्षिण एसियाली क्षेत्र क्रिकेट खेलका लागि विश्वकै महाशक्ति हो । भारतले विश्वकप प्रतियोगिता आयोजना गरिरहेका वर्तमान सन्दर्भमा नेपालसँग एउटा आधारभूत संरचनासहितको अन्तर्राष्ट्रिय रंगशाला नहुनु बिडम्बनापूर्ण अवस्था हो । दक्षिण एसियाको भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश हुँदै अफगानिस्तान र अब नेपालले समेत टि–२० विश्वकप खेल्ने अवस्थासम्म आइपुग्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दक्षिण एसियाकै लागि एउटा महत्वपूर्ण संरचना समेत हुने सम्भावना छ ।

यतिबेला प्रदेश सरकारको प्रतिवद्धता जति महत्वपूर्ण छ त्यसको उपयोगिता अभिवृद्धि गर्दै रंगशालाको संरचना तयार पार्नेतर्फ सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ । क्रिकेटको पूर्वाधार र संरचनासँगै क्रिकेट खेलको विकासका लागि खेलाडी उत्पादन, क्रिकेट खेलका लागि आवश्यक जनशक्ति निर्माण, क्रिकेट प्रतियोगिताहरुको संचालन, उचित व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र उपलब्धीका लागि पनि आवश्यक तयारी गर्न ध्यान दिनु जरुरी छ । एउटा सम्भावना देखिएको क्षेत्रमा भरतपुर महानगरपालिकाले प्रदेश सरकारलाई विश्वासमा लिएसँगै संघीय सरकारलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । यो समग्र प्रयासमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले प्राविधिक पक्षमा स्पष्ट योजना बनाएर अगाडि जाने अवस्था रहनुपर्छ । जसले आजको ठूलो लगानीबाट भोलि पालिका, प्रदेश हुँदै देशले आफ्नो सक्षमताका लागि लाभ लिने अवसर पनि रहोस् ।

Exit mobile version