कविता वाचन गर्नुहुँदै कवि गणेश लाठ ।

गैंडाकोटः वीरगञ्ज निवासी कवि गणेश लाठको एकल कवितावाचन ‘कविता साँझ’ गरिएको छ । नारायणी नदी किनार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा मंगलबार साँझ गरिएको कार्यक्रममा कवि लाठले आमा शीर्षकको कविता पढेर कार्यक्रम सुरु गरे । पहिलो चरणमा कवि लाठले ४ वटा कविता प्रस्तुत गरे ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा आमन्त्रित कवि, प्राध्यापक निमेष निखिलले गणेश लाठका कवितामा व्यंग्यचेत धेरै भएको बताए । ‘समसामयिक सामाजिक विषयवस्तुलाई कवि लाठले कवितामा उतार्नुभएको छ’, निखिलले भने, ‘तर कवि लाठ कवितामा भन्दा बढी आख्यानमा सक्रिय हुनुहुन्छ ।’ दोस्रो चरणको सुरुवातमा कवि लाठले जिन्दगी शीर्षकको कविता सुनाए । त्यसपछि गाग्रो, भाषा र गीत बिदाइको गरी उनले ८ वटा नेपाली भाषाका कविता सुनाए । कार्यक्रममा कवि लाठले मारवाडी र हिन्दी कविता पनि प्रस्तुत गरेका थिए ।

नेपाली लेखक संघ चितवनको आयोजनामा भएको कार्यक्रममा कवि लाठले बहुभाषी कविता सुनाएको अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । आमा शीर्षकको कविताबाट वाचन सुरु गरेका उनले बजार शीर्षकको कविता पढेर कार्यक्रमलाई बिट मारेका थिए । नेपाली, हिन्दी र मारवाडी भाषामा कविता रच्ने कवि लाठका कवितामा पारिवारिक सम्बन्धका अन्तरद्वन्द्व, खुशीको सापेक्षता तथा व्यापारीका पीडालाई समेटिएको निमेष निखिलले बताए । कवि निमेषले लाठका केही हिन्दी कवितालाई आफूले नेपालीमा उल्था गरेको पनि बताए । उनका अनुसार कवि लाठ काव्यचेत भएका कवि हुन् । निमेषले कवि लाठले बिम्बलाई शसक्तरूपमा प्रयोग गर्न सक्ने बताए ।

एलबी क्षेत्री, धनराज गिरी, उदय अधिकारी, वीरेन्द्र साह, गणेश श्रमण, रमेश प्रभात, ईश्वर कँडेल, प्रभाकर पण्डित, प्रेम सिग्देल, गायत्री श्रेष्ठ, सरला जोशी, शान्ति शर्मालगायतका कविता पारखीको उपस्थिति रहेको कविता साँझ कार्यक्रम नेपाली लेखक संघ चितवनका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।