हेटौँडाः बारा जिल्लाको निजगढ नगरपालिकामा दोस्रो वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । रतनपुर युनाइटेड युथ क्लब निजगढको आयोजना तथा निजगढ नगरपालिका ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा बिहिबारबाट सुरु भएको प्रतियोगिता हेटौँडा फुटबल एकेडेमी क्लबले विजयी सुरुवात गरेको छ ।
हेटौँडा फुटबल एकेडेमीले जयअभियान युथ क्लब बारालाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकेडेमीको तर्फबाट पहिलो हाफको ५५ औँ मिनेटमा प्रशुल लामाले १ गोल र दोस्रो हाफमा मिलन तामाङले थप २ गोल गरेका थिए । म्यान अफ द म्याच मिलन तामाङ घोषित भए । प्रतियोगितामा १० वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुनेछ ।
