Home मुख्य समाचार मकवानपुरगढीको गीताधर्म आधारभूत विद्यालयमा सूचना लुकाएर शिक्षक नियुक्ति

मकवानपुरगढीको गीताधर्म आधारभूत विद्यालयमा सूचना लुकाएर शिक्षक नियुक्ति

शिक्षा विकास तथा समन्वय इकाईमा विद्यालयले शिक्षक आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको भनी बुझाइएको हेटौँडा सन्देश दैनिकको फर्जी प्रति ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित गीताधर्म आधारभूत विद्यालयले शिक्षक नियुक्तिको प्रक्रियामा सार्वजनिकरुपमा सूचना प्रकाशन नगरी शिक्षक नियुक्ति गरेको पाइएको छ । खुला प्रतिस्पर्धा गराई योग्य र सक्षम शिक्षक नियुक्त गर्न सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने आवश्यकताविपरित शिक्षा विकास तथा समन्वय इकाई र गाउँपालिकालाई बुझाउनका लागि मात्रै सूचना प्रकाशित गरेको फर्जी पत्रिका तयार पारेर विद्यालयले बुझाएको देखिन्छ ।

विद्यालयले सार्वजनिक सूचना नै नगरी राहत कोटाअन्तर्गत निमावि अंग्रेजी विषयको एकजना र प्राथमिक तहको एकजना शिक्षक नियुक्त गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरबाट असार २१ गते शिक्षक नियुक्तिको प्रक्रियाका लागि अनुमति पाएको विद्यालयले साउन ३ गते हेटौँडा सन्देश दैनिकमा सूचना प्रकाशित भएको प्रमाण पेश गरेको छ । हेटौँडा सन्देशको साउन ३ गतेको नियमित पृष्ठमा नभई अतिरिक्त पृष्ठ क मा सूचना प्रकाशित गरेको विवरण विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा बुझाएको छ ।

जिल्ला हुलाक कार्यालयमा दर्ता भएको हेटौँडा सन्देशमा भने अतिरिक्त पृष्ठ छैन । गीताधर्म आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल लम्सालले भने शिक्षक नियुक्तिको प्रक्रिया नियमसंगतरुपमा भएको दावी गर्नुहुन्छ । पालिका र पत्रिकामा प्रकाशित गर्नुपर्ने सूचना प्रकाशित गरिएको प्रधानाध्यापक लम्सालले बताउनुभयो ।

विद्यालयले सूचना लुकाएको विषयमा जानकारी गराउँदा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र शिक्षा शाखाका प्रमुख राम घलानले नियुक्तिको प्रक्रियाका बारेमा विद्यालयसँग बुझ्ने प्रतिक्रिया दिनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकालले पनि नियुक्तिको प्रक्रियाका बारेमा आशंका भए आवश्यक छानविन गर्ने प्रतिक्रिया दिनुभएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईबाट स्वीकृति पाएको १३ दिनपछि मात्रै सूचना प्रकाशित गर्नु र सूचना प्रकाशित भएको मितिले आवेदन दिने म्यादको अन्तिम दिनको भोलिपल्ट नै परीक्षा सञ्चालन गरेर साउन २१ गते आइतबार हतार हतार नियुक्त गर्नुले प्रक्रियाविपरित शिक्षक नियुक्ति भएको बुझ्न सकिन्छ । प्रतिस्पर्धाको अवसरबाट बञ्चित हुनुपरेपछि अनियमितता भएको सूचना दिने स्रोतले भने लाखौं रुपैयाँ रकम बुझेर प्रधानाध्यापकले सूचना लुकाएर शिक्षक नियुक्त गरेको आरोप लगाएका छन् । विद्यालयले निमावितर्फ जयन्ती अधिकारी र प्रावितर्फ उर्मिला न्यौपानेलाई नियुक्त गरेको छ । गीताधर्म आधारभूत विद्यालय प्रधानाध्यापक गोकुल लम्साल एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला सहइन्चार्ज समेत हुनुहुन्छ ।

Exit mobile version