हेटौँडाः हेटौँडा–७ मा टोलस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । २७ औं संस्करणको प्रतियोगिता साविक विजेता नवज्योति टोलको भीआइपी फुटबल क्लबले आयोजना गर्नेछ । हरेक वर्ष वडादशैंअघि आयोजना गरिने प्रतियोगिताको विजेता टोलले अर्को वर्षको प्रतियोगिता आयोजना गर्ने गरेको छ । बुधबार हेटौँडा–७, नागस्वतीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगताका बारेमा जानकारी गराइएको थियो ।
नवज्योति टोल विकास संस्था अध्यक्ष एवम् प्रतियोगिताका संयोजक सुशील सुवेदीले असोज २३ गते उद्घाटन तथा कात्तिक ३ गते समापन कार्यक्रम हुने जानकारी दिनुभयो । २०५२ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ नगदसहित ४० केजी खसी, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ३० केजीको खसीसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । ८ देखि १० वटा टिमको सहभागिता रहने प्रतियोगिता आयोजनाका लागि ७ नम्बर वडा कार्यालयले एक लाख रुपैयाँ र स्थानीय धनबहादुर थापाले ५३ हजार रुपैयाँ सहयोग गर्नुहुनेछ ।
लिग कम नकआउट प्रणालीमा प्रतियोगिताको आयोजना गरिनेछ । आर्थिक समितिका संयोजक राजु कार्कीले करिब ३ लाख रुपैयाँको बजेटमा सम्पन्न हुने प्रतियोगिताले वडाभित्र रहेका टोलबीच सौहाद्र्धता अभिवृद्धि गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभएको छ । प्रतियोगिता हेटौँडा–७ स्थित नवज्योति माविको खेलमैदानमा हुनेछ ।
