हेटौँडाः हेटौँडा बजारमा रायोको साग सस्तो भएको छ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा ठूलो परिमाणमा सागको उत्पादन भइरहेको र बजार माग घट्दै जाँदा मूल्य सस्तो भएको व्यवसायीको भनाइ छ । हेटौँडा–१ स्थित थोक तरकारी बजारमा मंगलबार बिहान रायोको साग ५ रुपैयाँदेखि १० रुपैयाँ प्रतिमुठा विक्री भएको छ । चिसो मौसम सुरु हुन लागेसँगै सागको माग घट्ने र उत्पादन बढ्ने भएकोले थोकबजारमा सागको मूल्य घटेको व्यवसायी जगत गोले बताउनुहुन्छ ।
जिल्लामा सागको उत्पादन बढ्ने र माग घट्ने भएकोले उपयुक्त तयारी गरी जिल्लाबाहिर निर्यात गर्न सके किसानले बढी लाभ हासिल गर्न सक्ने अवस्था रहन्थ्यो । हेटौँडाको थोकबजारसम्म किसानले नै साग ल्याउने गरेको छ । यस्तै साग लिन चितवन, बारा र पर्साबाट किसान हेटौँडा बजार नै आउने गरेका छन् । आवश्यक तयारी गरेर व्यवस्थितरुपमा साग निर्यात गर्न सके किसानले बढी लाभ हासिल गर्ने अवसर रहन्छ । तर, निर्यात गर्ने गरी किसान, व्यवसायी र सरोकारवालाको ध्यान जान सकेको छैन ।
मकवानपुर जिल्लामा भीमफेदी गाउँपालिकाको भैँसेदेखि उत्तर–पूर्वी क्षेत्र निबुवाटार, सुपिङ क्षेत्रमा रायोको सागको राम्रो उत्पादन हुन्छ । अहिले हेटौँडाको थोक तरकारी बजारबाट रायोको साग चितवन, बारा र पर्सा जिल्लामा पनि निर्यात भइरहेको छ । चितवन, बारा र पर्साका व्यवसायी हेटौँडा आएर साग लैजाने गरेको व्यवसायी गोलेले बताउनुभयो । थोक बजारमा मूल्य घटेसँगै ३० रुपैयाँ मुठामा खुद्रा व्यवसायीले साग विक्री गरिरहेका छन् । वर्षा कम भएसँगै हेटौँडा बजार र आसपासका बस्तीमा स्थानीयले करेसामा पनि साग, सब्जी फलाउन थालेपछि बजारमा माग सागको माग घटेको व्यवसायी बताउँछन् ।
पछिल्लो ३ दिनदेखि सागको मूल्य सस्तो भएको व्यवसायी राजेन्द्र कार्कीको भनाइ छ । पानी परेको भोलिपल्ट भने सागको मूल्य बढ्ने गरेको छ । पानी परेको दिन किसानले साग नटिप्ने भएकोले पानी परेको भोलिपल्ट किसानले बजारमा कम मात्रामा साग पठाउने भएकोले मूल्य बढ्ने अवस्था रहन्छ ।
