Home मुख्य समाचार बागमती प्रदेशसभा बैठकः ४ विधेयक पेश

बागमती प्रदेशसभा बैठकः ४ विधेयक पेश

फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशसभाको अधिवेशन आइतबार बसेको छ । करिब दुई महिनादेखि बस्न नसकेको अधिवेशन आइतबार दिउँसो बसेको हो ।

प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै बैठक २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले २९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

प्रदेशसभाको बैठकमा ४ वटा विधेयक पेश भएको छ । सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपछी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभएको हो ।

सामाजिक विकासमन्त्री मोक्तानले प्रदेशसभामा छलफलको लागि प्रस्ताव गर्नुभएको विधेयकमा डा. दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, सृजना सिंह, गिरीबहादुर तामाङले सुझाव दिनुभएको छ । मन्त्री मोक्तानले सांसदहरुले उठाउनुभएको प्रश्न तथा सुझावको जवाफ दिनुभएको थियो । स्वास्थमन्त्री जोशीले पेश गर्नुभएको विधेयकमा सांसदहरु रामेश्वर श्रेष्ठ, सुरेन्द्रराज गोसाईं र डा. दिनेशचन्द्र देवकोटाले टिप्पणी र सुझावहरु राख्नुभएको थियो । प्रदेशसभामा पेश भएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषिसम्बन्धी विधेयकका बारेमा सांसदहरु केशवप्रसाद पोखरेल, हरि सापकोटा, दिनेशचन्द्र देवकोटा, सृजना सिंह, कृष्णप्रसाद सिलवाल र सुरेन्दराज गासाईंले टिप्पणी र सुझाव प्रस्तुत गर्नुभएको थियो ।

आइतबारको प्रदेशसभामा पेश भएका विधेयहरुका बारेमा संशोधन प्रस्ताव प्रस्तुत गर्न चाहने प्रदेशसभा सदस्यहरुले आगामी बुधबार ४ बजेसम्म सूचना दिन प्रदेशसभा सचिवालयले सूचित गरेको छ । प्रदेशसभाको बैठक आगामी भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख भुवनकुमार पाठकले २९ गते दिउँसो १२ः३० बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

Exit mobile version