हेटौँडाः तामाङ र मगर समुदायको संस्कारको विषयमा भ्रम फैलाएको भन्दै अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग गर्दै हेटौँडामा तामाङ र मगर समुदायले प्रदर्शन गरेका छन् । पाण्डेले मानवअधिकार उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा तामाङ समुदाय र मगर समुदायले बिरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
एक टेलिभिजन कार्यक्रममा तामाङ र मगर सामुदायमा दिदीबहिनी, दाजुभाइ बीच वैवाहिक सम्बन्ध हुने अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई कारवाहीको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनी गरी ज्ञापनपत्र बुझाएको हो । नेपाल आदिवासी महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष जङग बहादुर गुरुङले जातीय रुपमा आरोप लगाउने कार्यको विरोध गरिएको बताउनुभयो । सोमबार जनजाति समुदायले देशभर प्रदर्शन गरेका छन् । पाण्डेलाई कारवाही गर्न प्रहरीमा उजरी समेत दर्ता भइसकेको छ ।