Home मुख्य समाचार कांग्रेसलाई शुद्धीकरण गरेर अघि बढाउन आवश्यकः सहमहामन्त्री उपाध्याय

कांग्रेसलाई शुद्धीकरण गरेर अघि बढाउन आवश्यकः सहमहामन्त्री उपाध्याय

हेटौंडाः नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायले कांग्रेसलाई शुद्धीकरण गरेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस हेटौंडा नगर समितिको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री उपाध्यायले यस्तो बताउनुभएको हो ।

पार्टीमा ४६ सालदेखि अहिलेसम्म सधैं शद्धीकरणको आवाज उठ्दै आएको बताउनुहुँदै उहाँले बाहिर सडकमा र सामाजिक सञ्जालमा मात्र नभई पार्टीभित्रैबाटै शुद्धीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीको मूल अवधारणा नै पार्टीभित्रै लड्ने र शुद्धीकरण गरेर जानुपर्ने उहाँले बताउनुभयो ।

अहिले पार्टीमा गतल गरिरहेनहरु मात्र मौलाएको बताउनुहुँदै उहाँले नेतृत्व सुध्रिन आवश्यक रहेको बताउनुभयो । कांग्रेसले लिएको विचार गन्तव्यमा अझै पुग्न नसकेको उहाँको भनाई छ । कांग्रेसप्रति विचलित हुन जरुरी नभएको र अहिले आएको नयाँ पार्टीहरुबाट डराउनु नपर्ने उहाँले बताउनुभयो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र १ का उम्मेदवारसमेत रहनुभएका उपाध्यायले आफूलाई पार्टीभित्रबाटै चुनाव हराउन लागि परेको आरोप लगाउनुभयो । उहाँले एउटा महिलालाई पटकपटक हराउने तत्वविरुद्ध मकवानपुरका नेता कार्यकर्ताहरु किन नलागेको र नबोलेको भनी प्रश्नसमेत गर्नुभयो । पार्टीको नेतृत्वमाथि आक्षेप लगाएर विभिन्न सामाजिक सञ्जालमा जथाभावी लेख्ने नेता कार्यकर्ताहरुलाई कारबाही गर्न प्रदेश सभापति र जिल्ला सभापतिलाई उहाँले चुनौती दिनुभयो ।

पार्टीको चुनावमा हारे पनि कांग्रेसको राजनीतिमा कहिल्यै नहारेको उहाँले बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बलियो र सशक्त बनाएर लानुपर्ने बताउनुभयो । मकवानपुर जिल्लाबाट अहिलेसम्म सांसद बनेकाहरु कसैले केही काम नगरेको उहाँले बताउनुभयो । जिल्लामा १ सय २० उद्योग भएपनि २० उद्योग पनि राम्ररी नचलेको अवस्था रहेको बताउनुहुँदै उहाँले अहिलेसम्म जनप्रतिनिधिहरुले कुनै काम नगरेको आरोप लगाउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले पार्टीभित्रको कमीकमजोरीलाई आत्मसात गर्दै सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । पार्टीभित्र कुनै आग्रह र पूर्वाग्रह नराखी एकताबद्ध भएर गएमा कांग्रेस बलियो बन्ने उहाँको भनाई छ ।

विकास निर्माणको कार्यहरुमा व्यक्तिको नाम मात्र नभई पार्टीको पनि नाम लिनुपर्ने उहाँले बताउनुभयो । अहिले सबैले नयाँपन खोजिरहेको बताउनुहुँदै समयअनुसार कांग्रेसले विचार र सिद्धान्तलाई पनि नयाँपन दिनुपर्ने बताउनुभयो ।

यस्तै, पार्टी बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनतासँग सधैं भ्रम र झुठ बोल्न नसक्ने बताउनुभयो । पार्टीले गठबन्धनको नाममा अरुका लागि मत माग्नुपर्ने अवस्थाले अहिले कार्यकर्तामा निराशा फैलिएको बताउनुभयो । उहाँले भ्रम र झुटको राजनीति गर्ने कोही टिक्न नसक्ने बताउनुभयो ।

राजनीति गर्नेहरुमा जीत–हारलाई सधैं आत्मसात गर्ने क्षमता हुनुपर्ने उहाँले बताउनुभयो । पार्टीभित्रको समस्यालाई पार्टीबाटै समाधान गर्नुपर्ने भन्दै उहाँले बाहिर र विभिन्न सामाजिक सञ्जालमा व्यक्त गरेर पार्टीको बदनाम गर्ने काम गर्न नहुने बताउनुभयो ।

पार्टी नगर समितिका सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ र सञ्जिता खड्का, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने र आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version