Home मुख्य समाचार फेडोको प्रदेश सम्मेलनः १६ बुँदे हेटौंडा घोषणापत्र जारी, प्रदेश अध्यक्षमा पवित्रा

फेडोको प्रदेश सम्मेलनः १६ बुँदे हेटौंडा घोषणापत्र जारी, प्रदेश अध्यक्षमा पवित्रा

सम्मेलन सम्पन्न भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः दलित महिला संघ (फेडो) ले दलित महिलाका मुद्दासहित १६ बुुँदे घोषणापत्र जारी गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले घोषणापत्र जारी गरेको हो । संघका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष पवित्रा विकले घोषणापत्र प्रस्तुत गर्नुभयो ।

बागमती प्रदेशका १३ वटै जिल्लाका दलित महिला जनप्रतिनिधि र अभियन्ताहरु सहभागी दुई दिने सम्मेलनको छलफलबाट निस्किएका मुद्दाहरु गरिबी, रोजगारी, समानुपातिक प्रतिनिधित्व, निःशुल्क शिक्षा, अन्तरजातीय विवाह, छुवाछुत, चेलिबेटी बेचविखन, बालविवाह, एचआइभी–एड्सको खतरा, बहुविवाह, बलात्कार, प्रजनन् स्वास्थ्य, महिलामाथि हुने विभिन्न हिंसाहरु र यसबाट पर्ने नकारात्मक असरहरुलाई मध्यनजर गर्दै घोषणापत्र जारी गरिएको हो ।

संघले दलित सशक्तिकरण विधेयकको मस्यौदा तयार गरी पास गरेर कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितता गर्न माग गरिएको छ । दलित उत्तरदायी बजेट र त्यसको कार्यान्वयनलाई परिणाममुखी बनाउन माग गरिएको छ । बागमती प्रदेशमा समस्याको रुपमा रहेको चेलिबेटी बेचविखन रोकथाम गर्न, गरिब दलित बालबालिकाहरुलाई प्राथमिकतामा राख्ने व्यवस्था गर्न र सबै पाठ्यक्रमहरु लैंगिकमैत्री तथा जातीय समानतामा आधारित निर्माण गर्न माग गरिएको छ । यस्तै, दलित महिलाले सञ्चालन गरेको उद्योग तथा व्यवसायलाई संरक्षण र प्र्रवद्र्धन गर्नका लागि साना उद्योगका लागि बिना धितो ऋण उपलब्ध गराउन माग गरिएको छ ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई सुरक्षा दिन पनि भनिएको छ । संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले घोषणापत्रलाई प्रदेश सरकार, सबै राजनीतिक दल र सरोकारवाला निकायहरुलाई कार्यान्वयनका लागि आग्रह गरिने बताउनुभयो । संघले समाजमा विद्यमान जातीय, लैङ्गिक, धार्मिक, राजनीतिकलगायत सबै किसिमका विभेद र छुवाछुतको विरुद्ध शून्य सहनशीलताको नीति लिई कार्य गर्न प्रतिबद्धता रहेको जनाएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका ऐन कानुनहरु र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सहयोगीका रुपमा काम गर्न प्रतिबद्धता रहेको जनाएको छ । बागमती प्रदेशका दलित महिलाहरुको अधिकार प्राप्तिका लागि सचेतीकरण, सशक्तिकरण र संगठित गर्ने संघले प्रतिबद्धता जनाएको छ । बिहिबार सम्पन्न सम्मेलनले पवित्रा बिश्वकर्माको अध्यक्षतामा बागमती प्रदेश समिति गठन गरेको छ ।

Exit mobile version