Home मुख्य समाचार प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल जारी

प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल जारी

हेटौंडाः बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबार पनि छलफल भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु भएको हो ।

बिहीबारको बैठकमा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले शून्य समय र विशेष समय नरहेकोे जानकारी गराउनुहुँदै नीति तथा कार्यक्रमहरुबारे छलफल गर्न बैठक प्रारम्भ भएको घोषणा गर्नुभयो । छलफलमा बोल्नुहुँदै नेकपा माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामीले अहिले संविधानले प्रदत गरेको अधिकारलाई लिएर संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै प्रदेशको नीति तथा कार्यक्रम आएको महशुस गरेको बताउनुभयो । नीति तथा कार्यक्रमले नै बजेटको दिशा दिने बताउनुहुँदै उहाँले अर्थतन्त्र, संरचनागत सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चको वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर अहिलेको नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो ।

सांसद पुलामीले अहिलेको नीति तथा कार्यक्रममा केही कुरा छुटेको र आगामी दिनमा कार्यक्रम र बजेट बनाउँदा शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले शिक्षामा बागमती प्रदेशमा खेलकुदसँग सम्बन्धित कम्तिमा एउटा विषय पाठ्यक्रमको रुपमा बनेर आउनुपर्ने बताउनुभयो । त्यसो गर्दा कुनै खेल छुट्टै खेलिरहनुपर्ने, आफ्नो जीवन रक्षाका लागि बालबालिकाले अर्कै कुरा सिकिरहनुपर्ने र कभर्ड हल वा ग्राउण्डमा जानुपर्ने आवश्यकता नपर्ने उहाँको भनाई छ । अहिलेको यो नीति तथा कार्यक्रमसम्म आइपुग्दा बागमती प्रदेश आर्थिकरुपमा आत्मनिर्भर हुने सुनौलो अवसर प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले प्रदेशकै वित्तीय पुँजीद्वारा विद्युत् आयोजना सञ्चालन गरेर आर्थिक उर्पाजन गर्न सकिने बताउनुभयो । प्रदेशले एकीकृत बस्ती, नदी र खोलाले कटान गरेका जमिनहरुलाई तटबन्ध गरेर नदी उकास जमिन निर्माण गरी एकीकृत बस्तीको विकास गर्नुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकता दिएर उत्पादन भएका वस्तुहरुलाई बजारीकरण गर्ने र किसानहरुको घरमा समयमै बिउ र मल पु¥याउने कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले अपाङ्ताहरुको क्षमताको प्रयोग गर्न सक्नुपर्ने र आउने कार्यक्रममा त्यसलाई व्यवस्थित गरेर लानुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेकपा एमालेका सांसद केशवप्रसाद पोखरेलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले धेरै क्षेत्र समेट्ने खोजिएको तर विषयहरु नै गोलमटोल देखिएको बताउनुभयो । प्रदेश गौरवका योजनाहरुमा कुनै पनि सांसदहरुको सल्लाह नलिई एकलौटी ढङ्गले कार्यक्रम ल्याएको उहाँले आरोप लगाउनुभयो । यसमा सिंगो बागमती बोल्ने गौरवका योजनाहरु नआएको उहाँको भनाई छ । नयाँ ढङ्गले स्रोतको खोजी गर्ने र आम्दानी हुने क्षेत्रलाई बढाउने कुरालाई सरकारले आँट नगरेको उहाँले बताउनुभयो । उहाँले एक प्रदेश निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान, एक सहरी क्षेत्रमा एक कभर्ड हल, व्यायामशाला, एक आयुर्वेद केन्द्र र एक नमुना कृषि केन्द्र निर्माण गर्नुपर्ने बताउनुभयो । रासायिक मल कारखाना स्थापनाका लागि प्रदेश सरकार बोल्नुपर्ने भएपनि त्यो नदेखिएको उहाँको भनाई छ । उहाँले स्वास्थ बीमा, शिक्षा बीमा र कृषकहरुको बाली बीमाको विषयलाई नीति तथा कार्यक्रममा विशेषरुपमा जोड्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कुमारी तामाङले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारको गैरजिम्मेवारपना देखिएको बताउनुभयो । प्रदेश प्रमुखले देखाएको खाली फाइलको अर्थ प्रदेश सरकारको नीति तथा कार्यक्रम नै खाली भएको भन्ने लागेको उहाँले बताउनुभयो । सरकारको लापरबाहीको पराकाष्ठा भएकाले सदनमा छलफलको विषय बनाउन उहाँले आग्रह गर्नुभयो । प्रत्येक वर्ष नीति तथा कार्यक्रमा ल्याइनेछ र गरिनेछजस्ता भाषाहरु प्रयोग हुने, तर ल्यायो र गर्याे भनेर उपलब्धी जानकारी नगराइने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले पर्यटकीय हिसाबले सम्भावित मेलम्चीको पुल निर्माण गर्न हालसम्म कुनै सरकारको आँखा नपुगेको बताउनुभयो । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरुमाथि शुक्रबार बिहान १० बजेर ३० मिनेटमा छलफल गरिने गरी बिहीबारको बैठक सम्पन्न भएको छ ।

Exit mobile version