Home मुख्य समाचार परीक्षार्थीलाई शुभकामना

परीक्षार्थीलाई शुभकामना

चैत र वैशाख महिना विद्यालय तहका वार्षिक परीक्षा हुने समय हो । वर्षभरी विद्यार्थीले पढेका कुराको मूल्यांकन लिखित परीक्षाबाट गर्ने परिपाटी छ । चैतमा विद्यालय तहका कक्षा १० सम्मका परीक्षा सम्पन्न भइसकेको छ भने वैशाख २६ गते मंगलबारबाट कक्षा १२ को अन्तिम परीक्षा सुरु भएको छ । विगतमा कक्षा १० सम्मलाई माध्यमिक तह तथा कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह भन्ने गरिएको भए पनि अहिले कक्षा ९–१२ लाई माध्यमिक तह बनाइएको छ । अहिले सुरु भएको कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो । यो परीक्षा देशव्यापी एकैपटक सञ्चालन भइरहेको छ । परीक्षा १० दिनसम्म सञ्चालन हुनेछ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)भन्दा कक्षा १२ को अन्तिम परीक्षाको महत्व विद्यार्थीका लागि बढी छ । कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थी धेरै क्षेत्रमा रोजगारका लागि योग्य हुनेछन् भने विश्वविद्यालय तहमा अध्ययनको बाटो खुल्नेछ ।

यस वर्ष देशभर झण्डै पौने पाँच लाख परीक्षार्थी र मकवानपर जिल्लामा ७ हजारभन्द्या बढी विद्यार्थी सहभागी हुनेछन् । मकवानपुर जिल्लामा नियमिततर्फ ५ हजार ६ सय ६० र आंशिकतर्फ १ हजार ५ सय ९० जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । जिल्लाका ४९ वटा शैक्षिक संस्थाका विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । परीक्षाका लागि बोर्डले १५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि १२ वटामात्रै परीक्षा केन्द्र कायम गरिएकोमा यसपटक ३ वटा परीक्षा केन्द्र थप गरिएको हो । यस वर्ष थाहा नगरपालिकामा एउटा, बकैया गाउँपालिकामा एउटा र हेटौंडा उपमहानगरपालिकामा १३ वटा परीक्षा केन्द्र रहेका छन् । गत वर्ष कक्षा ११ मा अध्ययन गर्ने क्रममा रजिष्ट्रेशन फारम भरेका ६ हजार ३ सय ४ जना विद्यार्थीमध्ये यो वर्ष कक्षा १२ को परीक्षा फारम भर्ने विद्यार्थीको संख्या ५ हजार ६ सय ६० जना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा–११ मा भर्ना भएका मध्ये ६ सय ४४ जना विद्यार्थीले कक्षा १२ को परीक्षा फारम भरेका छैनन् । परीक्षा फारम भरेका मध्ये पनि केही विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् ।

यस वर्ष कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिन नियमिततर्फको अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ५ हजार ६ सय ११ जना विद्यार्थी सहभागी भएका छन् । २ हजार ७ सय ६७ जना छात्र र २ हजार ८ सय ४४ जना छात्राले परीक्षा दिएका हुन् । परीक्षा फारम भरेका ४६ जना विद्यार्थी परीक्षामा अनुपस्थित छन् । २८ जना छात्र र १८ जना छात्रा परीक्षामा अनुपस्थित भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को परीक्षामा केही विद्यार्थी बढेको छ । गत वर्ष कक्षा १२ को वार्षिक परीक्षामा नियमिततर्फ ५ हजार २ सय ६६ जना सहभागी थिए भने यस वर्ष ५ हजार ६ सय ६० जनाले परीक्षा फारम भरेका छन् ।

विद्यार्थीका लागि परीक्षा महत्वपूर्ण हुन्छ । माथिल्लो कक्षामा पढ्नका लागि परीक्षा दिएर उत्तीर्ण भएको हुनैपर्छ । विगतको एसएलसीलाई जसरी अहिले कक्षा १२ को परीक्षालाई बढी महत्व दिने गरिएको छ । परीक्षा भन्नेवित्तिकै डराउने विद्यार्थी धेरै हुने गर्दछन् । सबै परीक्षा विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण हुने भए पनि कक्षा १२ को परीक्षाले थप महत्व राख्दछ । तर, परीक्षामात्रै पनि केही होइन । त्यसैले परीक्षालाई लिएर विद्यार्थीले अनावश्यक डर मान्नु हुँदैन । विद्यार्थीलाई अनावश्यक दवाव दिँदा परीक्षा नै बिग्रने सम्भावना हुन्छ । परीक्षाको विषयलाई लिएर सबै किसिमको डर, त्रासबाट मुक्त हुन आग्रह गर्दै कक्षा १२ को वार्षिक परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा सफलतासहित उत्तरोत्तर प्रगतिको शुभकामना छ ।

Exit mobile version