Home मुख्य समाचार दुर्गमका विद्यालयमा अभिभावक शिक्षा

दुर्गमका विद्यालयमा अभिभावक शिक्षा

अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावकहरु ।

घोप्टेवेसी (मकवानपुरगढी)ः मकवानपुर जिल्लाको दुर्गम भेगको विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–६, घोप्टेवेसीस्थित कालिदेवी आधारभूत विद्यालयमा अभिभावक शिक्षा सञ्चालन गरिएको हो । दुइदिवसीय अभिभावक शिक्षा कार्यक्रममा अभिभावकको भूमिका, घरको वातावरण, विद्यालयमा अभिभावकको भूमिका, शिक्षकसँग सहकार्य, सकारात्मक अभिभावकत्वका विषयमा अभिभावकलाई अभिमुखीकरण गरिएको छ ।

आइतबार र मंगलबार दुईदिनका लागि आयोजना गरिएको अभिभावक शिक्षा कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवम् पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको छ । आइतबार अभिभावक शिक्षा कार्यक्रमको उद्घाटनमा वडा अध्यक्ष कृष्णप्रसाद बजगाईको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष बजगाईले शिक्षामा सरकारको ठूलो लगानी रहेकोले अभिभावकले विद्यालयमा सहभागी भएर आफ्ना बाबुनानीको गुणस्तरीय शिक्षाका लागि आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले हप्ता, दुई हप्तामा विद्यालय आएर विद्यालयको वातावरण, आफ्ना बाबुनानीको पढाइ, लेखाइका बारेमा बुझ्न अभिभावकलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेश सरकारको सहयोगमा विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको विद्यालयकी प्रधानाध्यापक देवकी तिमल्सिनाले जानकारी दिनुभयो । विद्यालयको पूर्वप्राथमिक कक्षा व्यवस्थापन गर्नुका साथै नियमित पठनपाठन प्रभावकारी बनाउन विद्यालयले सक्दो प्रयास गरिरहेको र अभिभावकको सकारात्मक भूमिका रहे पठनपाठन प्रभावकारी बनाउन सकिने प्रधानाध्यापक तिमल्सिनाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल प्रसाद चौलागाईले विद्यालयमा बालबालिकाको नियमित उपस्थिति रहने गरेको बताउनुभयो । ४ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय जाने उमेरका सबै बालबालिका नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो ।

अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावकले आफ्ना बाबुनानीलाई नियमित विद्यालय पठाउने गरेको, बालबालिकाको जिम्मा शिक्षकले लिनुपर्ने, बालबालिकाको सिकाई उपलब्धी राम्रो नभएको बताएका छन् ।

Exit mobile version