Home मुख्य समाचार संघीय अनुदान कटौती हुँदा स्थानीय तहमा समस्या

संघीय अनुदान कटौती हुँदा स्थानीय तहमा समस्या

हेटौंडाः देशमा आर्थिक सङ्कट बढ्दै जाँदा संघीय सरकारले स्थानीय तहमा पठाउने अनुदान कटौती गरेको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताउनुभयो । पालिकामा संघीय सरकारले बजेट कम पठाएको र राजस्व पनि कम संकलन भएको उहाँले बताउनुभयो ।

पालिकाले चालु आर्थिक वर्ष २०७९–२०८० मा ३ करोड राजस्व संकलन हुने अनुमान गरे पनि हालसम्म १ करोड ५० लाखमात्र संकलन भएको उहाँले जानकारी दिनुभयो । पालिकाको राजस्व धेरै संकलन हुने भनेको स्रोत खोला भएको भन्दै अध्यक्ष पुडासैनीले ढुङ्गा, गिट्टी र बालुवामा ठेक्का नलाग्नाले राजस्व कम संकलन भएको बताउनुभयो । ३–४ पटकसम्म ठेक्का आह्वान गर्दा पनि आर्थिक मन्दी तथा विभिन्न कारणले ठेक्का नलागेको उहाँको भनाई छ ।

पालिकामा समितिमार्फत् हुने साना खालका योजना सम्पन्न भएका र ठूला खालका ठेक्का लाग्ने योजनाका कामहरु सम्पन्न हुन बाँकी रहेको छ । सबै विकासका कामहरु पूरा भएमा सबैको रकम भुक्तानी दिन समस्या हुने उहाँको भनाई छ । पालिकामा विकासतर्फ सडक निर्माण, खानेपानी, कृषि क्षेत्रमा ४० प्रतिशत सम्पन्न भइसकेको र ४० प्रतिशत सम्पन्न हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको तयारी भइरहेको उहाँको भनाई छ ।

Exit mobile version