हेटौंडाः मकवानपुर जिल्ला अदालतमा ३ वटा मुद्दा फैसला भएको छ । बिहीबार ४२ वटा मुद्दाको पेशी रहेको भए पनि ३ वटा मुद्दामात्र फैसला भएको हो ।
न्यायाधीश मनकुमारी जीएम विकको इजलाशबाट ३ वटा मुद्दा फैसला भएको छ । उहाँको इजलाशमा जग्गा रोक्का राखी पाउँ, सम्बन्धविच्छेद र चेक अनादर मुद्दा फैसला भएको हो । पेशी भएकामध्ये १३ वटा मुद्दामा आदेश भएको छ भने २३ मुद्दा स्थगित भएको छ ।
मकवानपुर जिल्ला अदालतमा पछिल्लो समय सम्बन्धविच्छेदको मुद्दा बढ्दै गएको छ । बिहीबार पेशी भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा ८ वटा रहेको बताइएको छ । यस्तै, पेशी परेको मुद्दामा चेक अनादर र लागूऔषधसम्बन्धी मुद्दा पनि उच्च संख्यामा रहेको छ । चेक अनादर र लागूऔषधको मुद्दा ७–७ वटा रहेको छ । यस्तै, जबरजस्ती करणीमा ४ मुद्दा, अंश दर्तामा ३ मुद्दा, लेनदेनमा २ मुद्दा र अन्य ११ वटा मुद्दा रहेका छन् ।
समग्रमा मुद्दाको प्रकार हेर्दा सम्बन्धविच्छेद, चेक अनादर र लागूऔषधको मुद्दा उच्च रहेको छ । पछिल्लो समय मकवनपुर प्रहरीको सक्रियतामा धेरै संख्यामा लागूऔषध कारोबारीहरु पक्राउ गर्न सफल भएको छ । मकवानपुर प्रहरीको हिरासतमा पनि लागूऔषधको मुद्दामा संलग्न रहेकाको संख्या उच्च रहेको छ । लागूऔषध ओसारपसारमा महिलाको संख्या बढ्दै गएको छ ।