Home कला बहस तथा रचना वाचन गर्दै लेखक दिवस मनाइयो

बहस तथा रचना वाचन गर्दै लेखक दिवस मनाइयो

हेटौंडाः हेटौंडामा राष्ट्रिय लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन गर्दै प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा दिवस मनाइएको हो ।

घनश्याम घिमिरे र कृष्णप्रसाद दाहालले उक्त विषयमा बहसकर्ताको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा राम अविकासले सहजकरण गर्नुभएको थियो ।

लेखकहरुको इतिहास, परिचय, योगदान र समाजमा पारेका सकारात्मक परिवर्तनबारे बहस गरिएको थियोे । संस्थाको स्थापना दिवसका दिन तथा लेख लेखिएकै भरमा लेखकलाई पक्राउ गरेको दिनलाई राष्ट्रिय लेखक दिवस मनाउनुपर्छ भन्ने विषय बहसका क्रममा उठेका थिए । लेखकहरुको यथोचित सम्मान, मूल्यांकन र आन्दोलन परिवर्तनको सम्बाहक हो भन्ने कुरा बहसकर्ताहरुले उठाउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले फरकफरक मितिमा राष्ट्रिय लेखक दिवस मनाउने भन्ने कुरा सान्दर्भिक नभएको उल्लेख गर्नुभयो । छलफलका क्रममा रहेका बेला यस्ता विषय आएकाले आफूले पुनर्विचार गर्ने उहाँको भनाई छ । झरना साहित्यिक परिवार मकवानपुरका निवर्तमान अध्यक्ष दीपक गौतमले नेपाली लेखक संघको केन्द्रीय सर्कुलरअनुसार देशभर उक्त दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइएको बताउनुभयो ।

हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले राष्ट्रिय दिवस भएकाले सबैले उक्त दिवस मनाउने गरी साझा दिवस बनाउन आग्रह गर्नुभयो । भौतिक विकासमात्र नभई स्थानीय सरकारले भाषा, कला र संस्कृतिको संरक्षणमा भूमिका निभाउँदै आइरहेको उहाँले जानकारी दिनुभयो । आर्थिक अभावका कारण साहित्यिक गतिविधिहरु रोकिन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।


नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्ष तथा केन्द्रीय सदस्य ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।

Exit mobile version