Home अर्थ/व्यापार समुदायमा आधारित रोजगारीका लागि गार्मेन्ट तालिम

समुदायमा आधारित रोजगारीका लागि गार्मेन्ट तालिम

तालिममा सहभागी भई सीप सिकेकालाई सिलाई मेसिन हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा (बायाँ) ।

हेटौंडाः समुदायमा आधारित रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आधारभूत र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर सिर्जना गर्ने प्रयास हेटौंडा उपमहानगरपालिकाले थालेको हो ।

पहिलो चरणमा हेटौंडा–५, पिप्लेमा सञ्चालन भएको एक महिने आधारभूत तालिमको शुक्रबार समापन गरिएको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेको बताउनुभएको छ । उहाँले तालिम लिने मात्र नभई सीपलाई आयआर्जनको पाटोमा जोड्नका लागि उपमहानगरले आवश्यक सहजीकरण गर्ने बताउनुहुँदै ज्ञानलाई उत्पादनसँग जोडेर काम गर्न सुझाव दिनुभएको छ । तालिममा सहभागीलाई आवश्यक उपकरण र कच्चा पदार्थका लागि उपमहानगरले सकेको व्यवस्थापन मिलाउने उहाँले विश्वास दिलाउनुभएको छ । उहाँले अब हेटौंडा–१८ मा गार्मेन्ट तालिम सञ्चालनको तयारीमा उपमहानगर रहेको जानकारी दिनुभयो ।

पहिलो चरणको आधारभूत तालिम लिएका १० जना महिलाका लागि आवश्यक पर्ने मेसिनको व्यवस्थापन उपमहानगरले गर्ने भएको छ । तालिम लिएकाहरुलाई अहिलेका लागि आवश्यक रहेको ७ वटा मेसिन मध्य तालिमको क्रममा खरिद गरेका ४ वटा रहेको र बाँकी ३ वटा मेसिन उपमहानगरले दिने भएको छ । पहिलो चरणको आधारभूत तालिममा सहभागीले सर्टपाइन्ट र फ्रक सिलाउन सिकेका छन् । आधारभूत तालिममा सहभागीलाई उपमहानगरले जेठमा एड्भान्स तालिम आयोजना गर्दै उनीहरुको दक्षता अभिवृछि गरिने बताइएको छ ।

एड्भान्स तालिम सञ्चालन नभएसम्मका लागि खोपेगल्लीमा रहेको जय प्रकृति सिलाई प्रशिक्षण केन्द्रमा निःशुल्क सीप सिक्ने व्यवस्था केन्द्रका सञ्चालक मेनुका श्रेष्ठले दिनुभएको छ । तालिमको समापनमा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार कृष्ण धिताल, सहकारी तथा उद्योग विकास शाखाका हिमप्रसाद पौडेल, प्रशिक्षक अनुज परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको आतिथ्य रहेको थियो ।

तालिम समापनको क्रममा उपमहानगरले रोगजारीको अवसर सृजना गर्नका लागि हेटौंडा–१७ उर्मिला सुनुवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सिलाईसम्बन्धी सीप भएपनि मेसिनको अभावमा रोजगारीमा जोडिन नसकेकी सुनुवारलाई नगर प्रमुख मीनाकुमारी लामाले सिलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । उपमहानगरले आयआर्जनमा जोड्नका लागि १३ हजार ६ सय रुपैयाँ बराबरको मेसिन सुनुवारलाई दिएको हो ।

Exit mobile version