Home मुख्य समाचार विद्यार्थी संख्या ७०० पुर्याउने अमर माविको लक्ष्य

विद्यार्थी संख्या ७०० पुर्याउने अमर माविको लक्ष्य

भर्ना भएका विद्यार्थीलाई पुस्तक वितरण गर्नुहुँदै अमर माविकी प्रधानाध्यापक मालती उप्रेती ।

हेटौंडाः हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेती अहिले विद्यार्थी भर्ना अभियानमा व्यस्त हुनुहुन्छ । गत वर्ष भर्ना भएर पनि विद्यालयमा नियमित उपस्थित हुन नसकेका विद्यार्थीलाई सम्झँदै यो शैक्षिकसत्रमा विद्यार्थी संख्या सात सय पुर्याउने योजनामा हुनुहुन्छ ।

अमर माविमा दैनिक २० देखि २५ जना विद्यार्थी भर्ना हुनका लागि आउने गरेको र ती विद्यार्थीको प्रारम्भिक परीक्षा लिएर स्तर मापन गरी भर्ना गरिरहेको प्रधानाध्यापक उप्रेती बताउनुहुन्छ । “गत शैक्षिक सत्रमा छ सय ६२ जना विद्यार्थी भर्ना भएका मध्ये पाँच सय ९२ जनाले मात्रै वार्षिक परीक्षा दिए । भर्ना भएर पनि नियमित विद्यालय नआउने केही विद्यार्थीलाई अभिभावकले पनि विद्यालय पठाउन नसक्ने प्रतिक्रिया दिनुभयो”, प्रधानाध्यापक मातली उप्रेतीले भन्नुभयो, “अहिले दैनिक २० देखि २५ जना विद्यार्थी भर्ना हुन आउने गरेका छन् । उनीहरुको स्तर मापनका लागि दुईजना शिक्षकलाई राखेका छौं । नियमित पठनपाठनका बेला उनीहरुलाई ध्यान दिनुपर्ने पक्षलाई नियाल्न सजिलो होस् भन्ने उद्देश्यले उनीहरुको स्तर मापन गर्नका लागि नै आधारभूत परीक्षा सञ्चालन गरिरहेका छौं ।”

यो वर्ष मुख्यगरी पूर्वप्राथमिक तहको कक्षालाई सवल बनाउन मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन गर्न शिक्षकलाई तालिम प्रदान गरिएको उहाँको भनाइ छ । घरदैलोका क्रममा अभिभावकलाई पूर्वप्राथमिक तहको कक्षा व्यवस्थित र प्रभावकारी बनाउने बताएकै कारण विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको प्रधानाध्यापक उप्रेतीको भनाइ छ । विद्यालयले यो वर्ष मावि तहमा विज्ञान विषय शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । गत वर्ष तीन पटकसम्म सूचना प्रकाशित गरे पनि अध्यापन अनुमतिपत्र प्राप्त उम्मेदवार नआएका कारण सिकाइ अनुदानको शिक्षक नियुक्त गर्न नपाएको उहाँले जानकारी दिनुभयो । यो वर्षका लागि भने अध्यापन अनुमतिपत्र भएको उम्मेदवार सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।

यो वर्ष अमर माविबाट ४९ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् । विद्यार्थीको चापअनुसार शिक्षक थप गर्दै लगिने विद्यालयले जनाएको छ । अमर माविले यसै शैक्षिकसत्रदेखि नर्सरीदेखि ३ कक्षासम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्दैछ ।

Exit mobile version