Home मुख्य समाचार वन विज्ञानका प्राध्यापक–विद्यार्थीले जर्मनी र फिनल्याण्डसँग सहकार्य गर्ने

वन विज्ञानका प्राध्यापक–विद्यार्थीले जर्मनी र फिनल्याण्डसँग सहकार्य गर्ने

इप्सा हेटौंडा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रा.डा. बलराम भट्ट ।

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायले आफ्ना प्राध्यापक–विद्यार्थीले जर्मनी र फिनल्याण्डका समकक्षीसँग सहकार्यको तयारी गरेको छ । वन संकायको कार्यालयले जर्मनी र फिनल्याण्डसँग सहकार्यका लागि आवश्यक तयारी गरिरहेको डीन प्राध्यापक डा. बलराम भट्टले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय वन विद्यार्थी संघ (इप्सा) हेटौंडाको तीन दिने सम्मेलनको शनिबार हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रा.डा. भट्टले प्राध्यापक विद्यार्थीको क्षमता विकास गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीलाई प्रतिस्पर्धी र गुणात्मक बनाउन सहकार्यको प्रयास भइरहेको जानकारी दिनुभयो । यस्तै वन संकायको नयाँ प्रशासनिक भवन निर्माणको कार्य छिट्टै सुरु हुने र नयाँ प्रशासनिक भवनपछि शैक्षिक क्रियाकलापको गुणस्तर अझ वृद्धि गर्न सकिने उहाँले बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भई वन संकाय हेटौंडामा स्थापना भएदेखि नै त्रिविअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानसँगको स्वामित्व विवाद व्यहोर्दै आएको वन संकायले एक वर्षअघि मात्रै शैक्षिक भवन निर्माण सम्पन्न गरेको छ । भौतिक पूर्वाधारको अभावमा प्रभावकारी शैक्षिक क्रियाकलापमा केही असहजता भइरहेको प्रा.डा. भट्ट बताउनुहुन्छ ।

यसैबीच शनिबारबाट सुरु भएको सम्मेलन विभिन्न क्रियाकलाप गरी सोमबार सम्पन्न हुनेछ । शनिबार इप्सा हेटौंडाका अध्यक्ष अनिल सुवेदीको अध्यक्षता तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान संकायका डीन प्राध्यापक डा. बलराम भट्टको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन कार्यक्रम भएको छ ।

कार्यक्रममा सहभागीले विश्वविद्यालय तहको शिक्षा हासिल गरेका जनशक्तिले समाजमा योगदान गर्नुपर्ने धारणा राखेका थिए । शनिबारनै स्नातक तह अध्ययनरत विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम भएको छ । मकवानपुरको मनहरी गाउँपालिकास्थित डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । ३ दिने कार्यक्रमअन्तर्गत आइतबार वन प्रदर्शनी, इप्साको नयाँ समिति गठन हुनेछ भने सोमबार साँस्कृतिक साँझसँगै विविध खेलकुद र विद्यार्थीलाई उत्प्रेरित गर्ने, वन सम्बन्धी ज्ञान दिने जस्ता कार्य हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Exit mobile version