Home मुख्य समाचार रामेछापमा सवारी दुघटना हुँदा ५ जनाको मृत्यु

रामेछापमा सवारी दुघटना हुँदा ५ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौंडाः रामेछाप जिल्लाको मन्थली नगरपालिका–७, कौछेनीमा बिहीबार सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थलीका ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर, ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षकी जेनसुन तामाङ र सुनापति गाउँपालिका–१, गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

भित्री सडकखण्डमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बलेरो ब्रेक फेल भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो । बोलेरोमा १६ जना सवार थिए । दुर्घटना हुँदा ४ जना महिलाको घट्नास्थलमा नै मृत्यु भएको र चालककोे उपचारको क्रममा सामुदायिक अस्पताल मन्थलीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका ११ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

तीन जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना बालबालिका, ४ जना पुरुष र ४ जना महिला घाईते भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । शव मन्थली अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version