Home खेलकुद जनकपुरमा मेयर कप टि–२०ः मकवानपुरले आज बारासँग खेल्दै

जनकपुरमा मेयर कप टि–२०ः मकवानपुरले आज बारासँग खेल्दै

खेल सुरु हुनुअघि बाराका क्याप्टेन (बायाँ), म्याच रेफ्री र मकवानपुरका टिम क्याप्टेन सुमन सुनार (दायाँ) फोटो खिचाउँदै ।

हेटौंडाः मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा आज शुक्रबार मकवानपुरले बारा जिल्लाको टिमसँग खेल्दैछ । अहिले बाराले टस जितेर व्याटिङ गरिरहेको छ । प्रतियोगितामा सहभागी १२ वटा टिमलाई ४ वटा समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा मकवानपुरको समूहमा बारा र रौतहट रहेको छ । मकवानपुरले लिग चरणको दोस्रो खेल भोलि शनिबार रौतहटसँग खेल्नेछ ।

समूह चरणको खेलको समाप्तिपछि शीर्षस्थानमा रहने टिमले सिधै सेमिफाइनल खेल खेल्नेछ । सुमन सुनारको कप्तानीमा मकवानपुर जिल्लाको टिममा विकेट किपर गौरव खड्कासँगै शुभ कंशाकार, विशाल फुयाँल, सक्षम बास्तकोटी, राम नरेश गिरी, रिजन ढकाल, सूवर्ण भट्ट, असिम श्रेष्ठ, रोहित ठाकुर, सुमित वाग्ले, गोकुल अधिकारी, अस्तिक दाहाल र गौरव क्षेत्री छन् । टिम व्यवस्थापकको रुपमा मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक सचिव विनोद कुमार बानियाँ रहनुभएको छ । यस पटक जिल्ला टिममा यु–१६ का गोकुल अधिकारी र रोहित ठाकुरसँगै सुमित वाग्लेले जिल्ला टिममा डेव्यु गर्दैछन् ।

मकवानपुरको टिम बिहीबार साँझ जनकपुर पुगेको छ । प्रतियोगितामा जनकपुरधाम, महोत्तरी, सिराहा, काठमाडौं, सप्तरी, पोखरा, पर्सा, सर्लाही र विराटनगरको टिम सहभागी छ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख ५१ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version