Home मुख्य समाचार आधुनिक राष्ट्रिय माविको अभिभावक भेला सम्पन्न, ४ जना सदस्यका लागि २१ जना...

आधुनिक राष्ट्रिय माविको अभिभावक भेला सम्पन्न, ४ जना सदस्यका लागि २१ जना आकांक्षी

अभिभावक भेलामा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रधानाध्यापक रामसागर गुरागाई ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिकको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले विद्यालयको भौतिक विकासदेखि शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर उकास्न भौतिक विकासले मात्र सम्भव नहुने बताउनुभयो । विद्यालयका शिक्षक लक्ष्मी खनालले स्वागत मन्तव्य राख्नुहुँदै आफ्ना बालबालिकाको पढाइबारे विद्यालयमा बुझ्न अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले शैक्षिकस्तर उकास्न सहकार्य, हौसला, प्रेरणा र सुझावका निम्ति अभिभावकसँग अपेक्षासमेत गर्नुभयो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयको लक्ष्य र उद्देश्यबारे जानकारी दिनुभयो । विद्यालयमा अवसरसँगै चुनौती पनि रहेको उहाँले दावी गर्नुभयो । उहाँले शिक्षा क्षेत्रको मौजुदा ऐन, नियम र कानुन लागू गर्न, पालना गर्न र त्यसले नित्याउने कठिन परिस्थितिको सामना गर्न चुनौती रहेको बताउनुभयो ।

आधुनिक राष्ट्रिय माविका नवआगन्तुक शिक्षकलाई स्वागत गर्नुहुँदै प्रमुख अतिथि एकालाल श्रेष्ठ ।

निरन्तरको जिल्ला प्रथमको मार्गलाई कायम राखी निरन्तरता दिन, समुदायप्रति विद्यालयको निरन्तर विश्वास कायम राख्न, विद्यालयको प्रवेशको पश्चिम गेटको प्रयोग भइरहेको बाटो स्थायी कायम गर्न साथै पूर्वतर्फ भूटनदेवी माध्यमिक विद्यालयको जग्गा हुँदै भैरवरोडसम्म बाटोको पहुँच कायम गर्न चुनौती रहेको प्रधानाध्यापक गुरागाईंले बताउनुभयो । कक्षा १० उत्तीर्ण भएपछि विद्यार्थीलाई पुनः विद्यालयको कक्षा ११ र १२ मा टिकाइराख्न, बढ्दो विद्यार्थी संख्या तथा न्यून रहेको शिक्षक दरबन्दीलाई सम्बन्धित निकायमा पहल गरी शिक्षक दरबन्दी विद्यार्थी अनुपातअनुसार कायम गर्न चुनौती रहेको जानकारी दिनुभयो ।

प्रधानाध्यापक गुरागाईंले विद्यालयको तहगतरुपमा सिकाई उपलब्धीसमेत प्रस्तुत गर्नुभएको थियो । ८९ प्रतिशतसम्म सिकाई उपलब्धी विद्यालयले हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले ७२ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको विद्यालयको आयव्यय विवरण प्रस्तुत गर्नुभयो । विद्यालयमा शिक्षक, कर्मचारीसहित ७३ जना कार्यरत छन् । २ हजार ६ सय १६ जना विद्यार्थी अध्ययनरत् छन् ।

अभिभावक भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, पूर्वप्रधानाध्यापक देवप्रसाद श्रेष्ठ, पुरनबहादुर जोशी, ऋषिराम पोखरले, वीरवंश बैठालगायतको उपस्थिति थियो ।

अभिभावक भेलामा ४ जना सदस्य छनोट गर्नुपर्नेमा पुरुषतर्फ १२ र महिलातर्फ ९ जना आकांक्षी देखिएपछि माघ २८ गतेसम्म सहमतिको प्रयास गर्ने गरी विद्यालय व्यवस्थापन समिति चयनको कार्य स्थगित गरिएको प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभयो । अभिभावक भेलाको अवसरमा शिक्षकलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै नवनियुक्त शिक्षकलाई स्वागत समेत गरिएको थियो ।

Exit mobile version