करिब डेढ दशकअघि स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुर र आसपासका जिल्लाका बिरामीहरुलाई आँखाको उपचार सहज बन्दै गएको छ । आँखा अस्पताल नहुँदा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि हेटौंडामा बाहिरी जिल्लाबाट आउने डाक्टर कुर्नुपथ्र्यो । प्रायः महिनाको एक–दुई पटक शनिबार आउने डाक्टरलाई जँचाउनुपर्ने हुन्थ्यो । आँखासम्बन्धी सामान्य समस्या हुँदासमेत भरतपुर, परवानीपुर वा काठमाडौं जानुपर्ने बाध्यताबाट मकवानपुरबासी मुक्त भएका छन् । आँखा अस्पतालको स्तरीय र सर्वसुलभ उपचार सेवाबाट मकवानपुरका ग्रामीण भेगका बासिन्दासमेत लाभान्वित भइरहेका छन् । बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली आदि जिल्लाका बिरामीहरुलाई समेत आँखा परीक्षण तथा उपचारमा सहज भइरहेको छ । अस्पतालले समयसमयमा आयोजना गर्ने आँखा शिविरमा आँखा परीक्षण गराएर समस्या भएमा अस्पतालमा आएर सहज उपचार सेवा पाउन सम्भव भएको छ । मकवानपुरका कतिपय स्थानीय तहहरुमा अस्पतालले आँखा केन्द्र सञ्चालन गरेर थप सुविधा दिइरहेको छ ।
२०६५ साल मंसिर ५ गते स्थापना भएको आँखा अस्पताल १४ वर्ष पूरा भई १५ औं वर्षमा चलिरहेको छ । यसबीचमा अस्पतालले आफ्नो सेवा प्रवाहलाई विस्तार गरी प्रभावकारी बनाउँदै आएको छ । विश्व चर्चित डा. सन्दुक रुइतको अगुवाइमा स्थापना भएको तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना गरिएको हो । रोटरी क्लब अफ इन्टरनेशनल एवम् त्यसको नेपाली पदाधिकारीहरुको सहयोग र सक्रियतामा यो अस्पताल स्थापना भएको हो । अस्पतालको स्थापनासँगै तिलगंगा आँखा प्रतिष्ठानकै प्रत्यक्ष निगरानी, सहयोग र सहकार्यमा आँखा उपचार सेवा प्रदान गरिँदै आएको छ । अस्पतालमा उपचारका लागि आएका कुनै विशेष अवस्थाका बिरामीलाई अस्पतालले काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानमा पठाएर उपचार सेवा प्रदान गर्दै आएको छ । न्यून शुल्कमा सहज, व्यवस्थित र प्रभावकारी उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई विभिन्न संस्थाहरुले सहयोग पनि गर्दै आएका छन् ।
पछिल्लो समय अस्पताललाई व्यक्तिगत सहयोग पनि जुट्न थालेको छ । आइतबार काठमाडौं निवासी माधव राजभण्डारीले अस्पताललाई ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । केही समयअघि हेटौंडा–१८, हर्नामाडी र बकैया–५ मा आयोजना गरिएको आँखा शिविरमा पहिचान भएका मोतिविन्दुका बिरामीको शल्यक्रिया र अन्य खर्चका लागि रकम उपलब्ध गराइएको हो । उक्त सहयोग रकम शनिबार अस्पतालमा शल्यक्रिया गरिएको ७० जनाको खर्चका साथै अस्पतालका लागि आवश्यक उपकरण किन्न प्रयोग गरिने बताइएको छ । यसरी गरिने व्यक्तिगत तथा संस्थागत सहयोगका कारण न्यून आयस्तर भएका बिरामीले अस्पतालबाट निःशुल्क सेवा प्राप्त गर्न सहज हुने गरेको छ । विभिन्न संघसंस्थासँगको सहकार्यमा र अस्पताल आफैंले पनि मकवानपुर तथा अन्य जिल्लाका ग्रामीण क्षेत्रमा आँखा परीक्षण शिविर सञ्चालन गरेर आँखा रोगीको पहिचान गर्ने गरेको छ । यसरी पहिचान भएका बिरामीलाई अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
अस्पतालले दैनिक सरदर ४ सय जनाको आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिरहेको छ । २४ घण्टा नै आकस्मिक उपचार सेवा दिइरहेको अस्पतालले बिहान तथा दिउँसो दुई चरणमा बहिरंग उपचार सेवा प्रदान गर्दै आएको छ । हेटौंडामा सुविधासम्पन्न आँखा अस्पताल भएकै कारण आँखाका रोगीहरुले सानोतिनो उपचारका लागि हेटौंडाबाहिर जानुुपर्ने बाध्यता अन्त्य भएको हो । यसले आँखासम्बन्धी स्वास्थ्य समस्या जाँच नै नगरी बस्नुपर्ने अवस्था अन्त्य गर्नुका साथै अन्धोपनलगायत आँखासम्बन्धी समस्याबाट आम नागरिक मुक्त भएका छन् । न्यून शुल्कमा उपचार सेवा प्रदान गरिरहेको अस्पतालको लागि जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा उपचार सेवा प्रदान गर्न आर्थिकरुपले सक्षम बनाउनु आवश्यक छ ।
