हेटौंडाः पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २९ गतेबाट सुरु हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो ।
हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी टिम, ८ ए डिभिजन क्लब र दुई मोफसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मकवानपुरसहित त्रिभुवन आर्मी क्लब, मनाङ् मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ क्बल, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, मछिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जावलाखेल युथ क्लब, एभिनियर एफसी क्यामरुनको सहभागिता रहने जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडीलाई यसअघिको तेस्रो र चौथो संस्करणमा हेटौंडा स्कुल म्यानेजमेन्टले रोयल इन्फिल्ड बाइकको प्रायोजन गर्दै आएको थियो । यस पटक पनि बाइकको प्रायोजनका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरण जोशीसँग छलफल गरिने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताउनुभयो ।
प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन ११ गते हुनेछ । मकवानपुरको स्थानीय तहहरुको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको सभाध्यक्षता तथा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।
