Home मुख्य समाचार अहिलेको सरकार डेढ दुई वर्षपछि फेरी टुट्छः कमल थापा

अहिलेको सरकार डेढ दुई वर्षपछि फेरी टुट्छः कमल थापा

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

हेटौंडाः काठमाडौंमा संघीय सरकार गठनपछि मन्त्रीपरिषद्का नयाँ सदस्य नियुक्त गरी सपथ ग्रहणको कार्यक्रम चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अहिलेको सरकार डेढ, दुई वर्षपछि फेरी टुट्ने बताउनु भएको छ । मंगलबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले अहिले बनेको सरकार पदको भागबण्डामा मात्र केन्द्रित भएको पनि दावी गर्नुभएको छ ।

अहिलेको सरकारले देशमा अझ आर्थिक संकट, राजनीतिक तरलता, भ्रष्टाचार निम्त्याउन सक्ने अध्यक्ष थापाको भनाइ छ । अहिले सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्य, राजसंस्थाको पक्षमा नरहेको पनि अध्यक्ष थापाले जीकिर गर्नुभयो । आफुले मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा सूर्य चिन्ह लिएर उठ्दा लोकतन्त्र, गणतन्त्रवादी भएको विषय भ्रम मात्र रहेको उहाँले बताउनुभयो । थापाले आफु सधैं हिन्दु राज्य, राजसंस्थाको पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष थापाले अर्को निर्वाचनमा वडा तहसम्म आफ्नै पार्टीको ‘तीर’ चिन्ह लिएर उठ्ने गरी पार्टी संगठन विस्तार गर्ने बताउनु हुँदै आफ्नो कार्यकर्तालाई कतै पनि बिचलित नहुन आग्रह गर्नुभयो । पार्टीको केन्द्रीय समितिको बैठकले देशको राजनीतिक अवस्थामा केन्द्रित भई कार्ययोजना बनाउने पनि उहाँले बताउनुभयो । भेलामा राप्रपा नेपालका केन्द्रिय महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य अम्बिका खतिवडा, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version