Home कला समर्पणको पहिलो कृति ‘अभियुक्त समय’ विमोचन

समर्पणको पहिलो कृति ‘अभियुक्त समय’ विमोचन

समर्पण न्यौपानेको पहिलो कृति ‘अभियुक्त समय’ विमोचन गरिँदै ।

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ आइतबार विमोचन गरिएको छ । हेटौंडा–५ स्थित जीएस निकेतनमा कक्षा–९ मा अध्ययनरत १४ वर्षीय न्यौपानेको यो पहिलो कृति हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा न्यौपानेको कविता संग्रह ‘अभियुक्त समय’ विमोचन गरिएको हो ।

२६ वटा कविताहरु रहेको कृतिको घनश्याम घिमिरे र भावना सापकोटाले समीक्षा गर्नुभएको थियो । उमेरले सानो भए पनि न्यौपानेका कविताहरु परिपक्क रहेको सापकोटाले बताउनुभयो । उहाँका कवितामा सामाजिक, राजनीतिक चिन्तन, वैचारिक धारणा रहेको सापकोटाले बताउनुभयो । त्यस्तै उहाँका कविताहरुमा अशान्तिका विरुद्ध शान्ति, गाउँको अवस्था, अँध्यारोको विरुद्ध उज्यालो आवाजहरु रहेको समीक्षक घनश्याम घिमिरेले बताउनुभयो ।

कार्यक्रममा कृतिकार न्यौपानेको परिचय डिबी बर्तौलाले गराउनुभएको थियो । कार्यक्रममा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, साहित्यकार पुरुषोत्तम आचार्य, मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक सुदिप राज गिरी, जीएस निकेतनका प्रधानाध्यापक ईश्वर लामिछानेले कृतिकारलाई कृतिगत बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विमोचन कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तुल्सी थापा, नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक दीपक गौतम, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, महाकाव्यकार मुना अर्यालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कृतिकार समर्पण न्यौपानेका परिवारको सदस्यको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version