Home जीवनशैली भाषा संरक्षण र प्रवद्र्धन गर्न साहित्यिक भ्रमण

भाषा संरक्षण र प्रवद्र्धन गर्न साहित्यिक भ्रमण

भाषा संरक्षण र प्रवद्र्धन गर्न साहित्यिक भ्रमणको क्रममा हेटौंडामा आयोजित कार्यक्रममा रचना वाचन गरिँदै ।

हेटौंडाः नेपालभाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित भक्तपुरको विराट नेपाली भाषा साहित्य सम्मेलन गुठीले साहित्यिक भ्रमण कार्यक्रम गरेको छ । मकवानपुरलाई गन्तव्य बनाउँदै तीनदिने साहित्यिक भ्रमणको अन्तिम दिन गुठीले नेपाल भाषा खलः को हेटौंडा–१ स्थित सभाकक्षमा शनिबार साहित्यिक गोष्ठीको आयोजना गरिएको छ ।

गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको नेतृत्वमा बिहीबार मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका आइपुगेको गुठीको टोलीले शुक्रबार बिहान थाहा नगरपालिका–१, कुन्छालमा साहित्यिक गोष्ठीको आयोजना गरेको थियो । साहित्यिक गोष्ठीमा सम्भव भएसम्म नवारी भाषामै साहित्यिक रचना वाचन गर्न प्रेरित गरिएको गुठीका सदस्य ईन्द्रकुमार साखःले जानकारी दिनुभयो । गुठीका निवर्तमान अध्यक्ष कृष्णभक्त बोडे, कवि डा. योगेन्द्र प्रधानसहित २७ जना साहित्यिक यात्रामा सहभागी छन् ।

शनिबार हेटौंडास्थित नेपाल भाषा खलः को सभाकक्षमा साहित्यिक गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा भ्रमण टोलीमै सहभागीले नेपाल भाषामा आफ्ना रचना वाचन गरेका थिए भने हेटौंडाका केही साहित्यकारले नेपाली र नेपाल भाषामा आफ्ना रचना वाचन गरे । नेपाल भाषा खलः का अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, पूर्वअध्यक्ष सुवास खनालको पनि सहभागिता रहेको थियो ।

२०१८ सालमा स्थापित गुठीले काठमाडौं उपत्यकाभन्दा बहिर यसरी साहित्यिक यात्रा गरेको तेस्रो पटक हो । यसअघि सबैभन्दा पहिले बागलुङ र दोस्रो पटक कास्की जिल्लाको भ्रमण गरेको थियो । साहित्यिक भ्रमणको अवसरमा नेपाल भाषामा प्रकाशित विभिन्न कृतिहरु विक्रीका लागि समेत राखिएको थियो ।

Exit mobile version