हेटौंडाः समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सम्मानित हुनुभएको छ। नेवा: पत्रकार राष्ट्रिय दवुको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा काठमाडौंमा नगद १० हजार रुपैयाँसहित श्रीराम स्मृति न्हुज: पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको हो।
नेवा: पत्रकार राष्ट्रिय दवुका अध्यक्ष सुरजवीर बज्राचार्यको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल सरकारको उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। सम्मानित हुनुभएका श्रेष्ठ नेवा: राष्ट्रिय पत्रकार दवु: मकवानपुर जिल्लाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक श्रेष्ठको सहजीकरणमा हेटौंडामा नेवारी भाषाको साप्ताहिक पत्रिका प्रकाशन भइरहेको छ।
कार्यक्रममा नेवा: पत्रकार राष्ट्रिय दवु:का संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईको पनि आतिथ्य रहेको थियो।
