हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाका भूमिहिन ३० परिवारलाई पालिकाले लालपूर्जा वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भूमिहिन परिवारलाई लालपूर्जा वितरण गर्नुभएको हो । बागमती गाउँपालिका ४ नम्बर वडाका २८ परिवार र ५ नम्बर वडाका २ परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा लालपूर्जा वितरण कार्यक्रम भएको हो । लालपूर्जा वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती प्रदेशको नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहालको पनि आतिथ्य रहेको थियो ।
लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले निमुखा जनताका लागि राजनीतिमा लागेको बताउनुहुँदै भूमिहिनलाई पूर्जा दिन पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्य पुलामीले मकवानपुरको बागमती गाउँपालिकादेखि मनहरी गाउँपालिकासम्मको समस्या नै जग्गाधनी पूर्जाको रहेको र अब भने उक्त समस्या समाधान हुँदै जाने बताउनुभयो । स्थानीय सरकारदेखि संघसम्मको सहकार्यको परिणामले पूर्जा वितरण सहज भएको उहाँको भनाई छ ।
