हेटौंडाः महिला हिंसाले व्यापक रुप लिइरहेको नेपाल महिला आयोगले जनाएको छ । बुधबार हेटौंडामा आयोगको आयोजनामा भएको लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरणमा आयोगकी सहसचिव चमेला भट्टराईले यस्तो बताउनुभएको हो । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा आयोगको काम, कर्तव्य, आगामी कार्यदिशाबारे जानकारी दिनुहुँदै उहाँले आयोगमा सबैभन्दा बढी जबर्जस्तीकरणी तथा बलात्कारको उजुरी आउने गरेको बताउनुभयो ।
पीडितलाई न्याय दिने अधिकार आयोगलाई नभएपनि उजुरी आउने गरिएको उहाँको भनाइ छ । जसलाई कानुनी प्रक्रियामा जान र पीडितलाई पुनस्र्थापना गरिने कार्य मात्र गरिँदै आइरहेको बताउनुभयो । चालु आर्थिक वर्षको २०७९ मंसिर मसान्तसम्म ६९ वटा महिला हिंसाको उजुरी परेको बताउनुभयो । जबर्जस्तीकरणी, यौन दुव्र्यवहार जस्ता घटनाहरुको पनि उजुरी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अदालत मकवानपुरका अधिवक्ता ऋषिराम पोखरेलले लैंगिक हिंसाको अवधारणा र परिभाषा, कानुनी प्रावधान र कार्यान्वयनबारे अभिमुखीकरण दिनुभएको छ । सामाजिक मूल्य, मन्यता, पितृसत्तात्मक मूल्य, मन्यता र हानिकारक परम्परागत अभ्यासका कारण महिला हिंसा बढेको उहाँको भनाइ छ । उहाँका अनुसार २० वर्षभन्दा कम उमेरका किशोरीमाथि करणीका घटना धेरै हुने गरेको छ । छोरीले पाउने अंशमा पनि दुरुपयोग हुने हुने गरेका छन् । आजभन्दा भोलि हिंसा न्यूनीकरण हुनुको सट्टा झन बढ्दै गएको उहाँको दावी छ ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हामी आफैंले हिंसा गरिरहेको बताउनुभयो । हिंसा सबैलाई हुने गर्दछ तर पुरुषप्रधान देश भएकाले महिलामा बढी हिंसा हुने गरेको उहाँको भनाइ छ । शिक्षित समाजमा पनि हिंसा हुने गरेको छ । कतिपय संघ, संस्था तथा बाहिरी दातृ निकायले यस्ता हिंसा न्यूनीकरणका लागि प्रशिक्षण दिइएको छ । जसको परिणाम उपलब्धीमूलक देखिँदैन । हिंसा न्यूनीकरणका प्रयास भए तर आफूबाट नै हिंसा न्यूनीकरण गर्नुपर्छ भन्ने धारणा निर्माण हुन सकेनन् । जसले गर्दा विशुद्ध न्याय पद्दति हुन आवश्यक रहेको पौडेलले बताउनुभयो ।
न्याय सम्पादनका लागि स्थानीय तहको न्यायिक समितिहरुमा सक्षम र दक्ष जनशक्ति नभएको उहाँले बताउनुभयो । उहाँले प्रत्येक टोल तथा वडाहरुमा जनप्रतिनिधिहरु प्रतिनिधित्व हुने गरी न्यायिक समिति निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । गरिब तथा अशिक्षित समाजमा बढी हिंसा हुने गरेको छ । न्यायालयसम्म उक्त घटना पु¥याउन समिति निर्माण गर्नुपर्ने पौडेलले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्रहरी कार्यालयमा लैंगिक हिंसाका मुद्दामा समेत मेलमिलापका लागि पीडित र पीडक पक्ष आउने गरेको जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज चौलागाईँले पर्याप्त स्रोत तथा साधन र कानुनी व्यवस्था प्रभावकारी नहुँदा लैंगिक हिंसा हुने गरेको बताउनुभयो । महिला आयोगकी सदस्य विद्या कुमारी सिन्हाको सभाध्यक्षता तथा प्रथम मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
