Home अर्थ/व्यापार तरलता व्यवस्थापन गर्दै सहकारी संस्था

तरलता व्यवस्थापन गर्दै सहकारी संस्था

कल्पना श्रेष्ठ, अध्यक्ष मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

हेटौंडाः मकवानपुर जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुले तरलता व्यवस्थापन गरिरहेको जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभएको छ । सहकारीको वित्तीय अवस्था सुधारोन्मुख रहेको उहाँले दाबी गर्नुभयो । सहकारी संस्थाको अवस्था आशालाग्दो भन्दा पनि केही सुधारतर्फ अगाडि बढेको उहाँको भनाइ छ ।

कोभिड–१९ को संक्रमण समयमा थला परेको सहकारी संस्था बिस्तारै उठ्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । सहकारी संस्थाको अवस्था खस्कँदै गएपछि संघले नै २५ प्रतिशत तरलता राखेरमात्रै ऋण लगानी गर्न संस्थाहरुलाई अनुरोधसमेत गरेको स्मरण गर्दै उहाँले सहकारी संस्थाहरुले तरलता कायम राख्न सकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माहामारीको समयमा धेरै सहकारी संस्थाहरुमा पुँजीको अभाव देखिएको थियो । यस्तो अवस्थामा सहकारीको तरलता २५ प्रतिशत कायम राख्नुपर्छ । किनकि सदस्यहरुले जतिबेला पनि बचत फिर्ता माग्न सक्ने अवस्था हुन्छ । तरलता कायम भएकै कारण अहिलेसम्म बचत फिर्ता गर्न सकिएको अवस्था छ ।’

सहकारी संस्थामा देखिएको तरलताको समस्या बिस्तारै समाधान गरिरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा सहकारी संस्थामा १५ प्रतिशत तरलता कायम गर्नुपर्नेे व्यवस्था थियो । जिल्ला बचत तथा ऋण सहकारी संघमा ६०÷७० प्रतिशत तरलता कायम राख्ने गरेको भन्दै उहाँले अहिले संघमा ३६ प्रतिशतमात्र तरलता रहेको जानकारी दिनुभयो । संघमा अझ तरलताको कमी नै रहेको भन्दै उहाँले भएको तरलतालाई नघटाएर व्यवस्थापन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जिल्लामा ऋण रोकेको अवस्था छैन । तर, विशेष परामर्श गरेर मसिना ऋण लगानी भइरहेको छ । ठूलो ऋण लगानी गर्नसक्ने अवस्थामा सहकारी संस्था छैन । २५ प्रतिशतभन्दा धेरै तरलता देखिएको सहकारी संस्थाले आन्तरिक छलफलबाट ऋण लगानी गरिरहेका छन् ।’

कोभिड र राज्य पुनःसंरचनापछि सरकारी संस्थाको नियमन, अनुगमन गर्ने विषयमा फितलो उहाँले गुनासो गर्नुभयो । पहिले जिल्लामा रहेको डिभिजन सहकारी संस्थाले जिल्लाभित्रका सहकारी संस्थाको अनुगमन र नियन्त्रण गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले सहकारीको क्षेत्रमा हेर्ने कर्मचारीको अभावका कारण पनि ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्था समस्यामा परेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘कोभिडपछि लेखा समितिको सक्रियता पनि कम देखिएको छ । सहकारी संस्थाहरु आन्तरिक सुशासनको विषयमा कमजोरी भएको देखिन्छ ।’ उहाँका अनुसार सहकारीलाई व्यवस्थित बनाउन लेखा समिति र सञ्चालक समितिले सक्रियरुपमा आफ्नो भूमिका निभाउनु पर्छ । सहकारीमा खुद्रा रकमको समस्या भइरहेको उहाँले बताउनुभयो ।

हालसम्म मकवानपुर जिल्लामा रहेका १ सय ३९ वटा सहकारी संस्था संघमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जसमा ५१ वटा सहकारी संस्था संघको ऋणी रहेको उहाँले बताउनुभयो । संघमा ४ करोड ४१ लाख ६५ हजार रुपैयाँ शेयर पुँजी रहेको भन्दै उहाँले एक करोड ४४ लाख २९ हजार रुपैयाँ जगेडा कोष रहेको बताउनुभयो । यस्तै, संघमा ५५ करोड ३८ लाख ७३ हजार रुपैयाँ बचत निक्षेप र एक करोड ४४ लाख २९ हजार रुपैयाँ कुल संस्थागत पुँजी रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, संघमा ३० करोड ७८ लाख १९ हजार रुपैया ऋण लगानी र ३० करोड २२ लाख २६ हजार रुपैयाँ तरलता रकम रहेको देखिन्छ । जिल्ला बचत तथा ऋण सहकारी संघमा ६४ करोड ६२ लाख १४ हजार रुपैयाँ कुल सम्पत्ति रहेको देखिन्छ ।

Exit mobile version