Home खेलकुद मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक खेलकुद कार्यक्रम

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक खेलकुद कार्यक्रम

टेबलटेनिस प्रतियोगितामा सहभागीहरु ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलकुद कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले ४ दिने वार्षिक खेलकुद कार्यक्रम हेटौंडाको विभिन्न स्थानमा आयोजना गरिरहेको छ । सोमबार प्रतिष्ठानकी डीन दुर्गा कुमारी खड्काको सभाध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । प्रतिष्ठानको वार्षिक खेलकुद कार्यक्रममा प्रतिष्ठानका विद्यार्थीको पनि सहभागिता रहेको छ ।

सोमबार पहिलो दिन ५ किलोमिटर दौड, टेबलटेनिस, व्याड्मिन्टन खेलहरु आयोजना गरिएको छ । हेटौंडा–१०, टिसिएनचौरबाट हेटौंडा–५, शान्तिनगरसम्म भएको ५ हजार मिटर दौडमा पुरुषतर्फ अमरनाथ साह र महिलातर्फ सुष्मा कटुवाल प्रथम हुनुभयो । प्रतिष्ठानको हलमा भएको टेबलटेनिसमा पुरुषतर्फ विशाल खनाल र महिलातर्फ बिनिता घिमिरे प्रथम हुनुभएको छ । कमाने व्याड्मिन्टन हलमा भएको व्याड्मिन्टन प्रतियोगितामा पुरुषतर्फ रोशन श्रेष्ठ र महिलातर्फ गरिमा गौतम प्रथम हुनुभएको छ ।

यस्तै दोस्रो दिन मंगलबार भलिबल, क्रिकेट र फुटबल सञ्चालन हुँदैछ । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको भलिबलबाट पुरुष र महिला दुवैतर्फ प्रथम सेमेस्टर प्रथम भएको छ । यस्तै हुप्रचौरमा भएको त्रिकेटमा महिलातर्फ दोस्रो सेमेस्टर प्रथम भएको छ भने पुरुषतर्फको क्रिकेट खेल र फुटबल जारी रहेको छ । भोलि बुधबार तेस्रो दिन फुटबल फाइनल खेल, डोरी तान्ने खेल, दौडको आयोजना गरी शुक्रबार वार्षिक खेलकुद कार्यक्रम समापन गरिने प्रतिष्ठानकी डीन दुर्गा कुमारी खड्काले बताउनुभयो ।

Exit mobile version