हेटौंडाः बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही पुल स्थित खाजा नास्ता होटलमा गोली प्रहारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस ८ गते साँझ साढे ५ बजेको समयमा नास्ता पसलभित्र भारतको मोतीहारी जिल्लाका अन्दाजी ४५ वर्षीय शिवपुजन यादवलाई गोली हान्ने बिहारका ३८ वर्षीय प्रमोद रामलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रमोद रामलाई प्रहरीले पुस ८ गते राती ८ बजेको समयमा परवानीपुर गाउँपालिका वडा नम्बर ५ स्थित एल एस न्यूरो अस्पताल परिसरबाट नियन्त्रणमा लिएको हो । यकिन नम्बर नखुलेको भारतीय नम्बर प्लेट भएको एउटा भारतिय मोटरसाईकलमा आएका २ जना हतियारसहितका अपरिचित व्यक्तिहरुले यादवको छातीमा गोली प्रहार गरी फरार भएका थिए ।
घाइतेलाई तत्काल उपचारको लागी एलएस न्युरो अस्पताल परवानीपुर पठाएकोमा घाइतेको साढे ६ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घटनामा संलग्न पक्राउ अभियुक्त उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
