Home मुख्य समाचार राक्सिराङमा १२३८ विद्यार्थी ड्रप आउट

राक्सिराङमा १२३८ विद्यार्थी ड्रप आउट

फाइल तस्बिर ।

हेटौंडाः भौगोलिकरुपमा विकट रहेको राक्सिराङ गाउँपालिकाको शैक्षिक अवस्था पनि निकै पछाडि रहेको छ । गत शैक्षिक वर्षको तथ्याङ्क हेर्दा गाउँपालिकामा १ हजार २ सय ३८ जना विद्यार्थी ड्रप आउट (बीचमै विद्यालय छोड्ने) भएका छन् ।

चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा विद्यालयमा भर्ना हुने र विद्यालय नजाने संख्या धेरै रहेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा शैक्षिक सुधार नहुनुमा विद्यालय छाड्ने समस्या मुख्य रहेको छ । उहाँले भन्नुभयो– “गाउँपालिकामा दिवा खाजा कार्यक्रम र छात्रवृत्तिका कार्यक्रमको कारण सानो कक्षाका विद्यार्थीहरु विद्यालयमा आउँछन् । तर, माथिल्लो कक्षा पुगेपछि विद्यालय छाड्ने संख्या धेरै छ । उनीहरु विद्यालय जानेभन्दा पनि बाहिरी कामतर्फ लाग्ने गरेका छन् ।”

राक्सिराङ गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ५४ वटा विद्यालय रहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा दर्ता भएको दुईवटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । गाउँपालिकाका विद्यालयहरुमा ३ हजार ५ सय ६३ छात्र र ३ हजार ७ सय ३ जना छात्रा गरी ७ हजार २ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । गाउँपालिकामा विद्यालय छाड्ने संख्या बढ्नु, शिक्षकको न्यून दरबन्दी, नियमित विद्यालय नजानु मुख्य समस्याको रुपमा रहेको प्राविधिक सहायक पासाङ लामा बलले जानकारी दिनुभयो । गाउँपालिकामा अर्को समस्याको रुपमा बालविवाह रहेको उहाँले बताउनुभयो । माथिल्लो कक्षामा गएपछि विद्यालय छाड्ने विद्यार्थीहरुमा अधिकांश बालविवाह र छात्रहरुमा कामको खोजी देखिएको उहाँले बताउनुभयो । दैनिक गुजारा चलाउन पनि कमजोर आर्थिक अवस्थाका बालबालिकाहरु माथिल्लो कक्षामा पुगेपछि कामको खोजी गर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले भन्नुभयो– “विद्यालय छाड्ने संख्या कम गर्न र शैक्षिक सुधार गर्न गाउँपालिकाले कक्षा ९–१२ सम्म पढ्ने विद्यार्थीहरुलाई ५ सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ । तर, यस्ता कार्यक्रमहरुबाट थोरै संख्यामा मात्र सुधार देखिएको छ । विद्यार्थीको पढाइप्रतिको रुचि खासै पाइएको छैन । कतिपय पारिवारिक दबाबमा पनि पढाइ छाड्ने देखिएको छ ।” विगतका वर्षहरुको तुलनामा केही सुधार भएको भन्दै उहाँले शैक्षिक क्षेत्रमा चित्त बुझाउन सकिने अवस्था भने नरहेको जानकारी दिनुभयो ।

शैक्षिक सुधारका लागि सबैभन्दा महत्वपूर्ण भनेको शिक्षक दरबन्दी हो । तर, गाउँपालिकाको कतिपय विद्यालयहरुमा एउटामात्र शिक्षक दरबन्दी रहेको उहाँले स्पष्ट पार्नुभयो । “गाउँपालिकामा रहेको ५ वटा विद्यालयमा १ जनामात्र शिक्षक दरबन्दी रहेको छ । यसले शैक्षिक गुणस्तर कसरी दिन सकिन्छ ?” उहाँले थप्नुभयो, “बैठक, कार्यक्रम, सभा, सम्मेलन भएमा पठनपाठन नै ठप्प गर्नुपर्ने अवस्था रहेको छ ।”

केही विद्यालयहरुले निजी स्रोतबाट शिक्षक राखेको भएपनि सबै विद्यालय निजी स्रोतबाट शिक्षक राख्न सक्ने अवस्थामा नभएको उहाँले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकामा माध्यमिक तहका ७ जना, निम्नमाध्यमिक तहका २२ जना र प्राथमिक तहका १ सय ३६ जना शिक्षक दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकामा हाल अर्धवार्षिक परीक्षाको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले जानकारी दिनुभयो । गाउँपालिकास्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको सोमबार बसेको बैठकले अर्धवार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गत् सञ्चालित सम्पूर्ण विद्यालयहरुमा शैक्षिक सत्र २०७९ को अर्ध–वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गाउँपालिकाको कक्षा ६ देखि १० सम्म पुस २० गतेबाट पुस २८ गतेसम्म परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा सञ्चालनका लागि प्रश्नपत्र तयार पार्ने काम भएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version