हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरद्वारा आयोजित विज्ञान प्रदर्शनीमा भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । सोमबार हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा जिल्लास्तरीय मावि विज्ञान प्रदर्शनी कार्यक्रम भएको हो ।
यस्तै, प्रदर्शनीमा थाहा नगरपालिकाको हिमालयन इङ्लिस बोर्डिङ स्कुल द्वितीय, बकैया गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय तृतीय र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय सान्त्वना भएको छ । विज्ञान प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र १ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा जिल्लाका १० पालिकामध्ये ९ पालिकाको सहभागिता रहेको थियो । प्रदर्शनीमा प्रत्येक विद्यालयबाट एक जना शिक्षकको प्रतिनिधित्वमा दुई जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विज्ञान प्रदर्शनी कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमको सभाध्यक्षता तथा जिल्ला शिक्षा समितीका अध्यक्ष ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक पुर्ण बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो ।
