Home मुख्य समाचार बागमतीमा ३३ प्रतिशत मानवअधिकार उल्लंघनको उजुरी

बागमतीमा ३३ प्रतिशत मानवअधिकार उल्लंघनको उजुरी

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा नेपाल मानव अधिकार संगठन मकवानपुरले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः बागमती प्रदेशमा सबैभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको पाइएको छ । ७ वटा प्रदेशमा दर्ता भएका ५ सय ९७ वटा मानवअधिकार उल्लंघनको उजुरीमा बागमती प्रदेशमा सबैभन्दा बढी उजुरी दर्ता भएको पाइएको हो ।

राष्ट्रिय मानवअधिकार अयोग बागमती प्रदेश कार्यालय हेटौंडाका सहसचिव यज्ञप्रसाद अधिकारीले १ सय ९७ वटा उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । शनिबार भएको ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले १ सय २० वटा मानवअधिकार उल्लंघनको घटना फछ्र्यौट भएको जानकारी दिनुभयो । यस्तै, १५ प्रतिशत उजुरी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

मानवअधिकार शिक्षा प्रवद्र्धनमा अघि रहे पनि १० वर्षअघिको तुलनामा सडक सवारी दुर्घटनाका कारण मानवअधिकार उल्लंघन बढ्दो रहेको उहाँको भनाइ । बाढी, पहिरोका कारणले बढी महिला, बालबालिका र ज्येष्ठ नागरिकमा प्रभाव पार्ने गरेका छन् । सबैभन्दा बढी सिमान्तकृत सामुदाय प्रभावित भएको उहाँले बताउनुभयो । काठमाडौंकै केन्द्रीय कारागारमा तेब्बर मानवअधिकार उल्लंघन हुने गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तराज प्रजाले महिला, बालबालिका र जनजातिको मौलिक अधिकार संविधानमा कत्तिको भयो भन्ने कुरामा यकिन गर्नुपर्ने बताउनुभयो । ४८ प्रतिशत चेपाङ बस्ती बासोबास रहेको मकवानपुरकोे राक्सिराङलाई चेपाङ संरक्षित घोषणा गरिएको बताउनुभयो । मौलिक अधिकार प्रयोग गर्ने गरी उक्त क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ । पर्याप्त नीति तथा कानुन भएपनि कार्यान्वयन भने न्यून रहेको दावी उहाँले गर्नुभयो । मानवअधिकारका विषयलाई नीति तथा कार्यक्रममा संगसंगै लैजानुपर्ने राज्यमन्त्री प्रजाले बताउनुभयो ।

यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पहुँचमा हुनेले मात्र अधिकार लिन सकेको बताउनुभयो । पीडा महशुस गरेकाहरुले अधिकार पाउनुपर्ने व्यवस्था हुनुपर्ने उहाँको धारणा छ । निष्पक्ष न्यायपालिका नभएसम्म अधिकार पाउन कठिन रहेको दावी उहाँले गर्नुभयो ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नगर्न प्रमुख घलानले आग्रह गर्नुभयो । सरकारले नागरिकको माग र समस्यालाई बोध गरी हल गर्नुपर्ने उहाँले बताउनुभयो । यसले मानवअधिकार उल्लंघनका घटना न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अयोगका सहसचिव अधिकारीको सभाध्यक्ष तथा राज्यमन्त्री प्रजाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मुख्यमन्त्री कार्यालयका सचिव विनोद भट्टराई, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, गैरसरकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद धितालले दिवसको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा सबैका लागि मर्यादा, स्वतन्त्र र न्याय भन्ने उद्देश्यले दिवस मनाइएको हो ।

Exit mobile version