हेटौंडाः विगत केही वर्षदेखि हेटौंडा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाबापतको अनुदान उपलब्ध गराउँदै आएको छ । संघीय सरकारबाट प्राप्त बजेटअनुरुप हेटौंडा उपमहानगरपालिका तथा अन्य स्थानीय तहले कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजाको रकम उपलब्ध गराउँदै आएका हुन् ।
दिवा खाजा कार्यक्रमका लागि हेटौंडा उपमहानगरले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म करिब ५७ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष ३ करोड ५३ लाख ३५ हजार रुपैयाँ दिवा खाजाका लागि बजेट विनियोजन भएको छ । हाजसम्म ५६ लाख ९२ हजार ९ सय ९५ रुपैयाँ बजेट विद्यालयहरुमा निकासा भएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखााका शिक्षा अधिकृत सुनिता महर्जनले जानकारी दिनुभयो ।
उपमहानगरले प्रतिविद्यार्थी हाजिरीअनुसार १५ रुपैयाँ दिवा खाजाका लागि रकम उपलब्ध गराउँदै आएको छ । कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीलार्ई दिवा खाजा उपलब्ध गराइन्छ । दिवा खाजाले बिचैमा पढाइ छाड्ने प्रवृत्तिलाई न्यूनीकरण तथा विद्यालयमा बालबालिकालाई आकर्षण गर्ने बताइएको छ ।
यस्तै, आर्थिक अवस्था कमजोर भएका कारण कतिपय विद्यार्थीले विद्यालयमा खाजा खाने वातावरण सिर्जना हुँदैन । जसकारण सरकारले सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम ल्याएका बताइएको छ । हेटौंडामा ७५ वटा सामुदायिक विद्यालय रहेका छन् ।
