Home मुख्य समाचार बालबालिका अझै जोखिममा

बालबालिका अझै जोखिममा

प्रहरीसँग अन्तरक्रिया गर्दै ।

हेटौंडाः बालबालिका अझै जोखिममा रहेको बताइएको छ । बुधबार लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानअन्तर्गत् जोखिम परिस्थितिका बालबालिकाको संरक्षण एवम् प्रवर्द्धनबारे भएको छलफलमा यस्तो बताइएको हो ।

बाल हेल्पलाइन र प्रहरीबीच भएको छलफलमा उक्त विषयबारे जानकारी दिनुहुँदै ११ महिनाको अवधिमा हराएका ५ जना बालबालिका फेला परेको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यस्तै, १९ जना बालबालिका वेवारिसे अवस्थामा फेला परेका छन् । बालविवाह गर्ने ३५ जनामध्ये २७ जनाको बालविवाह रोक्न सफल भएको ज्ञवालीले बताउनुभयो । यस्तै, १५ जना यौन शोषणमा, १५ जना बालश्रम शोषणमा, एक जना लागूपदार्थ दुर्व्यसनमा र ५ जना बाल संरक्षण समस्यामा रहेका बालबालिका भेटिएको उहाँले बताउनुभयो । बाल संरक्षणका संयन्त्रहरु परिचालित भएपनि अझै बालबालिका जोखिममा रहेका छन् । अभिभावकमा सचेतना र सभ्यताको अभाव, बाल मनोविज्ञान नबुझ्ने, अभिभावक र बालबालिकाबीच छलफल नगर्ने र होस्टेलमा बालबालिका राख्दा यस्तो घटना हुने गरेको उहाँको भनाइ छ ।

बाल संरक्षण संयन्त्रबारे सहजीकरण गर्नुहुँदै मोबाइल र सामाजिक सञ्जालको लतले अभिभावकबाट बालबालिका नजिक हुन नसकेको ज्ञवालीले बताउनुभयो । कार्यक्रममा बालमैत्री कक्षा तथा बाल संरक्षणको अवस्थाबारे बाल हेल्पलाइनले सहजीकरण गरेको थियो । सडक बालबालिकाको अवस्था, बाल दुव्र्यवहार, साइबर क्राइम, बालबालिकासम्बन्धी रहेका विद्यमान कानुन र हालसम्म गरिएका गतिविधि तथा अनुभवका विषयमा ज्ञवालीले सहजीकरण गर्नुभयो । बाल संरक्षणका संयन्त्रहरु पुनस्र्थापना केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अस्थायी संरक्षण सेवा, अस्पतालमा अधारित एकद्वार संकट व्यवस्थापन केन्द्र, बालहेल्पलाइन सेवा केन्द्र, बाल गृहमा बालबालिकाको अवस्थाबारे समेत छलफल भएको थियो । ती बाल संरक्षणका संयन्त्रका कारण बाल जोखिममा केही सुधार भएपनि अझै बालबालिका जोखिममा रहेको ज्ञवालीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले लैंगिक हिंसाविरुद्वको १६ दिने अभियानअन्तर्गत् बालबालिका जोखिम न्यूनीकरणमा समन्वय गरिने प्रतिबद्धता जनाउनुभयो ।

Exit mobile version