Home मुख्य समाचार संघीय सरकारबाट प्रदेशलाई दबाउन खोजियोः मुख्यमन्त्री पाण्डे

संघीय सरकारबाट प्रदेशलाई दबाउन खोजियोः मुख्यमन्त्री पाण्डे

संविधान दिवस मनाउँदै बागमती प्रदेश सरकार ।

हेटौंडाः संघीय सरकारबाट बागमती प्रदेश सरकारलाई दबाउन खोजिएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आरोप लगाउनु भएको छ । संविधान दिवस–२०७९ को अवसरमा आज सोमबार हेटौंडामा भएको कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारको छुट्टै अस्तित्व भएपनि संविधान कार्यान्वयनको क्षेत्रमा संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार नदिएको दाबी गर्नुभयो ।

प्रदेश भित्र रहेका उपत्यकाका ३ जिल्लालाई संघले आफ्नो क्षेत्रअन्तर्गत राखेर काम गर्दा प्रदेश खुम्च्याउने काम भएको उहाँले स्पष्ट पार्नुभयो । प्रदेश सरकार बलियो हुँदा प्रदेश भित्रका १३ वटै जिल्लाका स्थानीय तह बलियो हुने भन्दै उहाँले प्रदेश बलियो बनाउन नसकेको स्वीकार गर्नुभयो । संविधानको कार्यान्वयनमा बागमती प्रदेशले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । संघीय हस्तक्षेपका कारण बागमती प्रदेश सरकारको काम कमजोर भईरहेको उहाँले औल्याउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारले आयोजना गरेको खुला लेख प्रतियोगितामा छनौट भएकाहरुलाई सम्मान गरिएको छ । खुला लेख प्रतियोगितामा प्रथम भएका डाक्टर अशोस्थामा भत्त खरेललाई नगद २० हजार रुपैयाँ, द्धितीय भएका निर्मल कुमार पौडेललाई नगद १० हजार रुपैयाँ र तृतीय भएका गणेश दुलाल र भानुभक्त आचार्यलाई नगद २ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षता तथा बागमती प्रदेश सभाका प्रमुख यादव चन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङसहित प्रदेश सरकारका मन्त्रीहरु, नेपाल सेना, नेपाल प्रहरी, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Exit mobile version