Home मुख्य समाचार सेवाप्रवाहमा सहजता

सेवाप्रवाहमा सहजता

विगतमा अपेक्षित बन्दै आएको हेटौंडा अस्पतालको विकास र विस्तारले तिब्रता पाएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालमा भौतिक पूर्वाधार निर्माणका साथै सेवा विस्तार भइरहेको छ । करिब एक दशकअघि नै क्षेत्रीय अस्पताल घोषणा गरेर अस्पतालको स्तरोन्नतिको प्रयास गरिएको भए पनि कार्यान्वयन हुन सकेन । तत्कालीन सरकारले हेटौंडा अस्पताललाई तीन सय शैयामा विस्तार गरेर सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने घोषणा गरेको भए पनि कार्यान्वयनमा आउन नसकेको हो । संघीयता कार्यान्वयनपछि प्रदेश तहको संरचना तयार भएपछि बागमती प्रदेश सरकारले अस्पतालको भौतिक विकास र स्तरोन्नतिमा सहयोग गर्दै आएको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतमा ल्याएपछि अस्पतालको विकासले तिब्रता पाएको हो ।

पछिल्लो समय हेटौंडा अस्पतालले प्रदान गर्ने स्वास्थ्य उपचार सेवा, सुविधामा सुधार हुँदै जानु मकवानपुर जिल्लाबासीका लागि खुशीको विषय हो । अस्पतालमा भौतिक पूर्वाधार निर्माणसँगै विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी बढ्दै गएको छ । अस्पतालले आइसीयु, एचडीयु कक्षसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मृगौला रोगीहरुका लागि डाइलासिस सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले सिटी स्क्यानको सुविधासमेत उपलब्ध गराएको छ । अस्पतालको सेवा विस्तार हुँदै जाँदा जिल्लाभित्रै जटिल रोगको उपचार सुविधा पाउन थालिएको छ । अस्पतालको विकास र विस्तार एवम् स्तरोन्नतिका लागि संघीय तथा प्रदेश सरकारको बजेट तथा स्थानीय युवा तथा जनप्रतिनिधिको निरन्तर पहल एवम् दवाव महत्वपूर्ण बनेको छ ।

विगतमा सबैतिरबाट उपेक्षित बन्दै आएको हेटौंडा अस्पतालले सुविधासम्पन्न अत्याधुनिक भवन पाएको छ । आइतबारबाट अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको छ । विगतमा हेटौंडा अस्पतालमा आउने अधिकांश बिरामीलाई रिफरमात्र गरिदिने कारण अस्पतालप्रति जनविश्वास कमजोर बन्दै आएको थियो । केही वर्षदेखि अस्पतालको स्तरोन्नतिसँगै जनविश्वास पनि बढ्दै गएको छ । अझै पनि अस्पतालमा आएका बिरामीप्रति स्वास्थ्यकर्मीले गर्ने व्यवहार मैत्रीपूर्ण हुन नसकेको गुनासो हट्न सकेको छैन । अस्पतालमा ड्युटीमा डाक्टर तथा स्वास्थ्यकर्मी नभेटिने, उपचारका लागि आएका बिरामीलाई राम्रो व्यवहार नगरिने, अस्पतालको सेवा लिन बिरामीले घण्टौं लाइन लाग्नुपर्नेजस्ता गुनासा कायमै छ ।

अस्पतालको भौतिक विकास र उपचार सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक, प्राविधिक एवम् प्रशासनिक जनशक्ति र आवश्यक उपकरणको व्यवस्थाप्रति अस्पताल प्रशासनले ध्यान दिनु आवश्यक छ । अस्पतालले नयाँ भवन बनाउनुभन्दा पनि सेवाग्राहीको सरोकार उनीहरुले पाउने सहज उपचारसँग हुन्छ । नयाँ भवनबाट सेवा सुरु गरेसँगै सेवाप्रवाहमा सहजता आउने निश्चित छ । तर, बिरामीले स्तरीय सेवा पाउन सकेनन् भने भवनले मात्रै अस्पतालप्रतिको विश्वास कायम रहन सक्दैन । अस्पतालको स्तरोन्नतिसँगै सेवाग्राहीको चाप बढ्ने निश्चित छ । अस्पतालमा बढ्ने बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल व्यवस्थापनले प्रभावकारी सेवाप्रवाहमा विशेष ध्यान दिन सक्नुपर्छ । अन्यथा, अस्पतालको नयाँ भवनले हामी मकवानपुरबासीलाई नै गिज्याउने निश्चित छ ।

Exit mobile version